'किचकन्नी गुरुदेवको उल्टो पैतला'

पोखरा । आजसम्म जम्काभेट भएको छैन मेरो किचकन्नीसँग । न त भूत / प्रेत / बोक्सी / पिचास नै देखेको छु । सानै छदा बडेहरुको बडाबडा मुखबाट सुनेको हू , भूत / प्रेत / किचकन्नी / बोक्सी आदिको आङै सिरिङ्ग हुने डरलाग्दा किस्साहरु । ऊ बेला लाग्थ्यो , रातको अध्यारोमा छ ती दानवहरुको आतंकको साम्राज्य ।

 

जब ज्यानमा बिबेक बिनाको कुखुरे फुर्ती भरियो , फगत दन्त्यकथाभन्दा ज्यादा केही लागेनन ती किस्साहरू । त्यही भएर त होला , रात बिरात चिहान डाँडाको बाटो बरालिँदा गनि गनि भत्काए मैले ती सैतानको बास हुन्छ भनिएको चिहानहरू । ऊ बेला डर थिएन मनमा न मगजमा नै थियो डर । उसो त मगज खाली पनि थियो ऊ बेला । र त सोचेँ , भौतिक दुनियाँमा ती अभौतिक पिडक र हिङ्स्रक र शोषकहरुको अस्थित्व नै छैन ।

 

तर जब शरिरमा बलसँगै  मगज पनि भरिन लाग्यो , धिमा र धिमा महसुस हुन थाल्यो , कसैले कल्पेको फगत दन्त्यकथा मात्रै थिएनन् ती । चरित्र बदलिएको थियो तर कथा सत्य । कथामा सैतान हुन्थे । सैतानहरुका लामा लामा नङ्ग्राहरु हुन्थे । बिहान बेलुकिको छाकमा मान्छेको रगत पिउँथे सैतानहरु । उनिहरुको एउटै ध्येय हुन्थ्यो , निमुखाजनको सातो लिएर रगत पसिना चुसी राख्ने ।

 

अहिले शोषणको र अत्यचारको र मानमर्दनको र अपहेलनाको किस्साहरु जताततै छताछुल्ल देख्छु म । सैतानी किस्साहरुमा झैँ निमुखाजनलाई तर्साएर र धम्क्याएर र सातो लिएर रगत पसिना चुस्नेहरुको बिगबिगी छ बजारमा । मात्रै फरक , अहिलेका पात्रहरुको देखिने गरि लामा र लामा नङ्ग्राहरु छैनन । हेर्दै डरलाग्दो जगल्टा छैन । नरमुन्डको माला भिर्दैनन यिनिहरु । न त किचकन्निको झै पछि फर्किएका छन् पैँतलाहरू । बरू बडो सभ्य र ज्ञानि र सुशील र भद्र र बौद्दिक र शिक्षित र सुकिला देखिन्छन अहिलेका पात्रहरु । स्वरुप हेर्दा विश्वास नै लाग्दैन । प्रत्येक छान निमुखाको रगत पसिनामा मुछेर निल्छन आफ्ना गाँसहरु । सुन्नेगरि केही बोल्दैनन यी आधुनिक सैतानहरु । गरेको गाली पनि मुस्काउँदै सुन्छन । हुँदैन कहिल्यै भन्दैनन । तर हुने काम कहिल्यै हुँदैन यिनिहरुबाट । साँझ ढल्किन साथ मुठी भरिका सुकिला सैतानहरुको निमुखालाई चुस्ने बिधेयक बनाउने गोप्य सभा हुन्छ , कतै गोप्य स्थानमा । निमुखालाई लुट्ने विधि बने पछि , जुङ्गामा ताउ लगाउँदै खुसुक्क कुटिल मुस्कान फुस्किन्छ यिनको अनुहारमा । अनि गरिब लुट्ने विधि बनेको खुशियालिमा फेरि ठोक्किन्छन् तिनै गरिबको रगतले भरिएको यिनका प्यालाहरू ।

 

उसो त पुरानो किस्सामा भेटिने , बलिमा बोका खाने र भाले खाने र सुँगुर खाने र परेवा खाने र रागो खाने । के के हो के के खाने फरक फरक पिचास र मसान र किचकन्नी दुनियाँथरी सैतान भए झैँ हाम्रो समाजमा पनि बौद्दिक भनाउँदा र समाजसेवाको खोल भिरेका र शिक्षित भनिएका र राजनीतिको बर्को ओढेका र धर्मको खरानी घसेका र  जात जातिको ढोलभिरेका फरक फरक स्वरुपका चुसकहरु भेटिन्छन । तर दन्त्य कथाको सैतान र आधुनिक सैतानहरुबिच एउटा भिन्नता पनि छ । कथाको सैतानले मात्रै भिन्न भिन्न जनवार पन्छिहरुको रगतको माग गर्थ्यो । अझ कुनै कुनै त मात्रै मुठिभर अक्षेता मै पनि खुशी हुन्थे । तर आधुनिक सैतानहरुलाई पशु पन्छिको रगतको कुनै दिलचस्पी छैन । यिनिहरुलाई मात्रै दुखिजनको रगतको नशा चढेको हुन्छ । फकाएर , झुक्याएर , तर्साएर , धम्क्याएर जसरिहुन्छ चुसी छाड्छन आफ्नो भाग पर्ने निमुखाको रगत ।

 

मैले भनीसकेँ , आधुनिक सैतानहरुका स्वरुप र प्रकारहरु । सबै प्रकारहरुको क्रीया र प्रक्रीया समेट्दिन म यो आलेखमा । म आफैँ पनि जोडिए झैँ देखिएको शिक्षित र बौद्दिक र ज्ञानि सैतानहरुको वर्णन गर्ने जमर्को गर्छु म अहिले ।

 

केही दिन बिते होलान् । मैले यसैको वरिपरि एउटा आलेख कोरे जतिबेला विश्वविद्यालयका बौद्दिक र बिज्ञ कहलिएकाहरु कतै लुकेर म जस्ता आम्शिक शिक्षक रुपि निमुखाजनको शोषण गर्ने विधि वा तरिका निर्माणमा व्यस्त र मस्त थिए । टाउकेहरु प्रपन्चमा व्यस्त हुँदा तिनका अघि पर्दा घुँडामा हात राख्दै , कुप्री परेर दाम चढाउने तलाका हुक्केहरु तिनै टाउकेहरुको जयजयकारमा व्यस्त थिए । भन्दै थिए  'तपाईंहरु ढुक्क हुनुहोस १ नया मालिक अति दिलदार होईबक्सिन्छ । रगत पसिनाको अम्मली होईबक्सिन्न । बर्षौँदेखि चुसिएको तपाईहरुका रगत पसिनाको व्याज सहित क्षतिपूर्ति पाउनुहुन्छ ।'  समाजले मानेको । बौद्दिक भनेको मिनि सैतानले जुङ्गामा ताउ लगाउदै आफ्नो मालिकको गुणगान गाए पछि होला तनि भनेर पत्याएँ म बबुरो ले पनि । म जस्तै अरु बबुरा पनि खुशी भए ।

 

तर जब लुटको बिधान जन्मियो आस्वशनको हावा भरिएको मेरो मनको बेलुन काइते काँडाले घोचेसरी प्याट्ट फुट्यो । सर्बोच्च मालिकले हुङ्कार गर्नु भो  ' रगत र तागत सकिएका तिमी काईतेहरु घर फर्क । हामी पोटिला र मालदार र वजनदार बकरी खोजेर हलाल गर्छौ ।'

 

आफ्नो मालिकको विधि ठ्याक्कै १८० डिग्री उल्टो घुमेपछि हुक्केहरु पनि कोमा पुगे कि ? बोली त दूरको वात मुखबाट वाफ सम्म निस्किएन तिनको । जि र हजुरिमा जुनि गुज्रीएकाले आफ्नो मालिकको बिरोध गर्ला कि भनी सोच्ने कति मूर्ख म पनि ? हुक्केहरु आवेशमा आएर प्याच्च बोलिहाले उबेला । अहिले आफैले गरेको भविष्यवाणिको धोती खुस्किए पछि नाङ्गिएका बबुरा हरु गुप्तवासमा छन् ।

 

अब लागौँ काईदाको काइते कार्यविधितिर । यो कार्यविधी गोचर गर्ने बित्तिकै पुरानो पिचास कथा याद भो मलाई । मेरि आमाले मलाई साँझ साँझ नडुलोस भनेर तर्साउनलाई सुनाकी थिइन् किचकन्निको कथा । कथा कस्तो थियो भुले मैले । तर एउटा चिज अझ प्रस्ट याद छ  'बाबू किचकन्निको पैतला उल्टो हुन्छ' जब विधि पढे र फेरि पढे तब महसुस भयो यो बिधिको पनि पछिल्तिर फर्किएको छ पैतला । अति प्रतिगामी र स्वेच्छाचारी र मनोगत छ यो कालो बिधि । मलाई थाह भएन , हजुर आफैले हो वा हजुरका कारिन्दाहरुले ?

 

उमेर पुगेपछी सेवाको सम्मान स्वरुप पेन्सन दिएर आराम गर्न पठाएका तपाईका सहकर्मी र अग्रजहरुलाई फेरि जागिर दिने निर्णय गर्नुभएछ । मैले सम्झाउनु नपर्ला हजुरलाई कि प्रत्येक भौतिक बस्तुहरुको आ आफ्नै आयु हुन्छ । निश्चित उमेर पछि कार्य क्षमतामा ह्रास आउँछ अनि नासिन्छन । तपाई कै बिधानले अब सक्नुहुन्न र जानुहोस् आराम गर्नुहोस् भनेर घर पठाईएका गुरुहरुलाई कुन बिधानमा टेकेर दुखदिने निर्णय गर्नु भो ? जवाफ चाहन्छु म । सेवानिबृत्त सबै गुरुजनमा उच्च सम्मन छ मेरो । वहाँहरुको योदानको कदर गर्दै बेला बखत अतिथी बनाएर अनुभव साट्ने अवसर दिईनुपर्छ अवस्य । तर दैनिक श्रम गर्ने उमेर सकियो गुरुहरुको अब । कहिले बुझ्नुहुन्छ यो सत्य ? अनुदानमा मिलेको हाते ट्र्याकटर ग्यारेज थन्क्याएर , फाली फुक्लेको हलो बोकेर बाझो जोत्न खोज्ने तपाईको विधि प्रतिगामी नभए के हो गुरुदेव ?

 

अस्ति मात्रै सुने हजुरको एउटा बिचार , क्याम्पसमा महिनाको एक र दुई पिरियड लिनेलाई सेवा सुबिधा दिन सकिन्न भन्ने । यसैसँग जोडिएको एउटा प्रश्न छ तपाईलाई । चौध बर्ष अघि देखि निरन्तर खट्ने शिक्षकहरुलाई कहिले देख्छ हजुरको नजरले ? अर्को सवाल क्याम्पसले र विश्वविद्यालयले आफ्नो आवश्यकता ले कामदार राख्छ कि कामदारको निजि आवश्यकताले ? आवश्यकता बिना नै शिक्षक भर्ती गर्ने तपाईको कारिन्दालाई तपाईले कारवाही गर्ने हो कि , त्यसैलाई आधार मानेर अरु पिडितको घाउमा नुन चुक दल्ने हो गुरु ? यसको पनि जवाफ पाउँ ।

 

अर्को बिषय , फरक सिफ्टमा सञ्चालन भएका एकै बिषयहरुला एकै सिफ्टमा कोच्ने उद्घोस पनि गरेछ तपाईको बिधेयकले । एउटा सत्य के नभुल्नुहोला कि तपाईं अहिले कार्यकारि प्रमुख हुनुहुन्छ , आफ्नो बिबेक प्रयोग पनि गर्न पाउनुहोला र गर्नु होला । तर सिफ्ट सन्चालन तपाईं वा तपाईका कारिन्दाहरुका स्वबिबेकले भएका होईनन । ती क्याम्पसमा अध्ययन गर्ने बिध्यार्थीको आवश्यकता हेरि सञ्चालनमा आएका हुन् । तसर्थ बिध्यार्थी अनुकुल नभए आफैँ हटेर जान्छन । तपाईको टर्रो आदेशको जरुरी छैन यसलाई । तपाईले यो आदेश जारी गर्दै गर्दा हिजोको एउटा तथ्यलाई भुल्न हुँदैनथियो ।

 

तुलनात्मक रूपमा निरङ्कुश मानिएको शासन सत्ताले सबैखाले बिध्यार्थीलाई मध्यनजर गर्दै रात्रीकालिन कक्षाहरु पनि सन्चालन गराए यहि विश्वविद्यालयमा । अहिले सत्ता फेरियो । तर शैली झन निरङ्कुश देखियो । आवश्यकता र समयको माग अनुशार नयाँ बिषयहरु थप्दै , बिध्यार्थीको आवश्यता हेरि सिफ्ट थप्नुको सट्टा भएको सिफ्ट एकै ठाउँ कोचकाच पारेर कसको हितमा जुट्न खोज्नुभएको हो ? मेसो पाउन मुस्किल छ । केही दशक अघि हाम्रो भन्दा जर्जर हालमा गुज्रीएको दक्षिण कोरिया , आफ्नो मात्रै एउटा बिध्यार्थी बोक्न सिङ्गै रेल पठाउने आदेश दिन्छ । तपाईं भने आफ्नो इच्छा अनुशार सिफ्ट सन्चानल गरेर बिध्यार्थिलाई खाए खा नखाए घिच भन्दै हुनुहुन्छ ।

 

अरु मुलुकलाका विश्वविद्यालयहरुलाई मात्रै आफ्नो एकजना बिध्यार्थिको सुबिधाको त्यतिबिधी चासो छ , तपाईं भने दस पन्ध्र जना भए भने अन्तै लगेर कोचकाच पार वा हुँदै नभएको वैद्युतिय माध्यम बाट पढा भन्नुहुन्छ । मैले भनेको विश्वास नलाग्ल हजुरलाई । तसर्थ फुर्सद मिल्दा क्याम्पस सवारी होस । अनि हेर्नुहोला १२० जना बिध्यार्थिहरु कोचिएको खोर जस्तो मेरो कक्षा । त्यही कक्षामा अझै दस र पन्ध्र बिध्यार्थी थप के आधारमा भन्नुहुन्छ तपाईं ? कि तपाईलाई बिध्यार्थी जति भेंडा बाख्रा सरह लाग्छन् वा मलाई गोठालो सम्झिनुहुन्छ ? केहि त सोच्नुहोस गुरुदेव अब ! अरु मुलुकहरु त्यसै बिकसित भएका होईनन ।

 

माथी बसेर तपाईले सिफ्ट मर्ज गर्ने र सेक्सन मर्ज गर्ने आदेश दिईरहँदा एक दशकदेखि थोरै अघि फर्किन मन भयो मलाई जतिखेर तपाईको विश्वविद्यालयमा पिसिएल को पढाइ हुन्थ्यो । म कार्यरत क्याम्पसमा साबिकको पचहत्तर जिल्लाका गरिब मजदुर किसान निमुखाजनका सन्तानहरु हाजिर हुन्थे उच्चशिक्षा हासिल गर्ने अभिलाषा बोकेर ।

 

उ बेला पनि अहिलेको तपाईं अनि तपाईका कारिन्दाहरु जस्ता केहिथान बिज्ञहरु मिलेर घनघोर मगज लगाएर एउटा जनघाती निष्कर्ष निकाल्यो , अब पिसिएल हामीसँग टाँसेर राख्नु हुदैन ।राज्यलाई मार्ग दिन सक्ने भनेर चिनिएकाहरुले विश्वविद्यालयबाट पि सि एल हटे पछि ती गरिबका सन्तान कहाँ पढ्ने ? भनेर ठाउँ  तोकेनन । न तिनलाई पढाउने परिभाषित शिक्षकहरु थिए राज्य सङ्ग । एककाएक हतारमा निर्णय गरियो । हुनेखाने जति तपाईकै कारिन्दाहरुले सन्चालन गरेको निजि प्लस टू धाउन लागे । नहुनेले ऋण काढेर त्यही संस्थामा दाखिला गरायो आफ्नो सन्तान । पि सि एल खारेज भए पछि जुका ढाडिए झै ढाडिए हुक्केहरु । त्यो कुकृत्य गरेवापत स्याबासी स्वरुप केही बण्डल हात्ती पनि थापेहोलान टेबुल मुनि मुनि । समग्रमा सैतानको भागमा छ्यालब्याल हुनेगरी पर्‍यो गरिब जनताको रगत पसिना । परिणाम स्वरूप ऋण धान्न नसकी कति बा आमा खाडी भासिए ? आफूले नसकेपछि पढ्ने उमेरको छोरो पनि उतै भासिन विवश भयो । कति जिन्दगिहरु काठको बाकसमा फर्की सके होलान ? यसको हिसाब पनि गर्नुहोला फुर्सदमा ।

 

अहिले , त्यही प्लस टू फेज आउट गर्ने कुत्सित प्रपन्चको सिक्वेल जस्तो बनेर आयो गुरु तपाईको कार्यबिधी । आशिंक शिक्षकलाई लखेट्ने मेसोमा गरिब निमुखा बिध्यार्थिहरुको पढ्न पाउने अधिकारमाथिको निर्लज्ज बलत्कार गर्नेवाला छ तपाईको कार्यबिधिले । तर तपाईका कारिन्दाहरु मन मनै कति पो मखलेल छन् होला यो विधि देखेर । मलाई शङ्का भयो गुरु , विधि कार्यन्वयनमा आएको भोलिपल्टै हातमा राजिनामा पत्र बोकेर हाजिर होलान तपाईका कारिन्दाहरु । सामान्य आम्दानिले पढ्न पाईने संस्थाको ढोका बन्द भएपछि निजि कलेज धाउन वाध्री हुनेछन अधिकांश विद्यार्थीहरु । त्यही मेसोमा निजि कलेजको ढडिया थाप्न जानेवाला छन् हुक्केहरु । कालन्तरमा भएको बिषयहरुलाई निजिकरण गरेर वा हटाएर नाम मात्रै विश्वविद्यालय बनाएर हाजिर गरेको भरमा तलब हसुर्ने कुत्सित आकाङ्क्षाको ब्लू प्रीन्ट पनि हो यो विधि ।

 

यो विधि ल्याउनु अघि यसैसँग सम्बन्धित सम्झौताहरु हेर्नूभयो कि भएन एकफेर ? समस्या मात्रै हिजो वा अस्तिको होईन । डेढ दशक हुनलाग्यो सम्स्या खिल परेर बल्झिन लागेको । यो अवधिमा देश कै परिभाषा परिमार्जित भयो । तर आशिंक शिक्षकको परिभाषाको पुनर्ब्याख्या हुनै सकेन । अहिले हिजो भन्दा प्रतिगामी व्याख्या गरिदिनु भो तपाईले । म गलत नभए , तपाईं हिजो कुनै हस्पिटलमा बिरामी जाच्दै गर्दा , देशको सम्माननिय प्रधानमन्त्रीहरु पुष्प कमल दाहाल ( प्रचण्ड ) , माधव कुमार नेपाल र शेर बहादुर देउवा तिनै जनाले यो विश्वविद्यालयको समस्या नै हो । यसलाई तत्काल समाधान गरिने छ भनेर सहमति पनि गरेकै हुन । ती सहमतिहरु हुदा छेउ बसेर हाल मल्दै जि हजुर यो समस्या नै हो र अन्याय नै हो । अब न्याय दिइनु पर्छ भनेकै हुन तपाईं जस्तै बुद्दिजिवी हरुले पनि । अहिले कुन कुनाको अन्तरदृष्टी खुल्यो कुनि तपाईको ? भन्दै हुनुहुन्छ यो अन्याय होईन । यो समस्या पनि होईन । समान काममा समान पारिश्रमिक खोज्ने हो भने संस्था छोडेर भाग भन्दै हुनुहुन्छ । अब जवाफ दिनुहोस , हिजो आज तपाईं बिराजमा भएको कुर्सिमा बसेकाहरु र तीन र तीन जना प्रधानमन्त्रीहरुले गरेका सहमतिहरु रद्दिको टोकरीमा फाल्न लायक नै थिए ? बिबेक शुन्यहरुले आँखा चिम्लिएर गरेको सहमतीहरु थिए ती ? होईन भने हिजो भएका सहमति भन्दा प्रतिकूल र प्रतिगामी ? स्वेच्छाचारी यो कालो बिधेयक जन्माउने प्रेरणाको स्रोत के हो ?

 

श्रम गर्न पाउने श्रमिकहरुको ब्याख्या , छनौटको तौर तरिका , पारिश्रमिकको निर्धारण श्रमिक भित्र्याउनु अघि गरिने बिषयहरु हुन कि श्रमिकहरुले चौध र चौध बर्ष श्रम गरिसके पछि गरिने बिषय हो ? जवाफ चाहन्छु । चौध बर्ष ढिला निर्धारण गरिएको तपाईका सर्तहरु अति स्वेच्छाचारी र प्रतिगामी छन् । तसर्थ स्विकार हुँदैन हामिबाट ।

 

अन्त्यमा , समस्या समाधान गर्ने हेतुले मेरै क्याम्पसमा गरिएको नाटक मन्चनको थोरै किस्सा पनि सुनाउने अनुमती चाहन्छु । बिगतदेखिको हाम्रा असन्तुष्टि र असहमतिको शिलशिल अघिल्लो सालको मङ्सिर २९ गते देखि झन शसक्त्त बन्यो । समान काममा समान पारिश्रमिक नमिल्ने भए मजदूरि गर्दैनौँ भन्यौँ हामिले । आफूमाथी हुँदै आएको शोषण जान्दा जान्दै अरुमाथी त्यही शोषण हुन दिन्नौँ पनि भन्यौँ । हामिले मजदूरी अस्विकार गरे पछि केही हप्ता ठप्प भयो क्यामपस । परिणाम स्वरूप समस्या समाधान गर भन्ने आदेश दिएपछि क्याम्पस दाखिला हुनुभयो नामको अघिल्तिर प्रा अनि डा पनि थपिएका ॐ प्रसाद बराल गुरु । वहाँ सङ्ग आफै बराबरका अरु दुई थान गुरुहरु पनि आउनुभो ।

 

बिगतमा पटक पटक झुक्याईएकोले वहाहरु प्रती शङ्का गर्‍यौं हामिले । तर हजुरको आज्ञा बमोजिम आवस्यक परे उतिखेरै कराको पत्र गोजिबाट झिकेर दिन सक्ने सम्मको अख्तियारी छ भनेर दम्भ गरेपछि पत्याउन वाध्य भयौँ हामी । वातावरण सहज भएपछी हात हातमा फाईल बोकेर दुईदिन सम्म मिर्मिरे उज्यालो देखि गोधुली साझ नपरिन्जेल दुडधुप गर्नुभो गुरुहरुले । बिध्यार्थि सङ्ख्याको रेकर्ड हेर्नू भो । स्थायी , करार अनि आशिंक शिक्षक सङ्ख्या पनि गणना गर्नुभो । रुटिन हेर्नूभो । र एउटा निष्कर्षमा पुगेपछी छिप्पिँदो साँझमा आन्दोलन्कारी करार गरिएका हामीसँग छलफल पनि गर्नुभो । त्यो बेला पनि हामिले वहाँहरुको अख्तियारीमा प्रश्न उठाएकै हौ । तर फेरि आश्वासन दिनुभो कि वहाँहरु हजुरकै दोस्रो रुप हुनुहुन्छ । वहाहरुको बोली र तपाईको बोलीबिच मात्रै बोल्ने मुखको भिन्नता हो । गरिने सहमती र हुने निर्णयमा एक रत्तिको फरक पर्नेछैन । नाम अघि प्रा अनि डा थपिएको बुद्दिजिविहरुले त्यत्रो साहस देखाउनुभए पछि विश्वास गर्नुपर्‍यो हामिले र गर्‍यौँपनि । वहाँहरु आफैले सोधेर / खोजेर / हेरेर / देखेर / प्रत्यक्ष महसुस गरेर समस्या समाधानको खातिर एउटा सम्झौता गर्नुभयो कि यो बौदिक शोषण अन्याय पुर्ण छ । यसको तत्काल समाधान पनि गरिनु पर्छ । सारमा यहि गएको फाल्गुन २० गते देखि कार्यक्षमता र बरियता र निरन्तरता र आवस्यकता अनुसार सम्पुर्ण आशिंक शिक्षकहरुलाई मासिक वेतनमा परिणत गर्छु भन्ने सम्झौतामा सहि धस्काएर बिदा हुनु भो मान्यवरहरु ।

 

त्यत्रो फूर्ती खल्तीमा भिरेर आउनुभएका मान्यवरहरुसँग सम्झौता भएपछि ढिलै भए पनि श्रमको कदर हुनेभो भन्ने आशामा मखलेल बन्यौ हामी । यहि बिच कोभिड महामारी देखापर्‍यो । सबै संस्थाहरु बन्द भए । तर नितिगत निर्णयहरु भने भई नै रहे । हामी व्याकूल बनेर निर्णय कुरि बस्यौ । उता तपाईहरुले सकेको बिलम्ब गर्नुभो । महामारिकै बिच खाली पेट बोकेर आन्दोलित हुन बाध्य भयौ हामी । त्यही बिच बिबिध कार्यदलहरु पनि बने । अन्तिममा हामी सङ्ग सम्झौता गर्नुहुने प्रा डा ॐ प्रसाद बराल फेरि अर्को कार्यदलको प्रमुख बने पछि केही राहत भयो हामिलाई । तर बिडम्बना ! जब कार्यबिधी आयो फेरि हावा भरिएको काईते बेलुन जस्तो भयो हाम्रो हाल । बरालजिले आफैले गरेको सम्झौताको धज्जी उडाउदै पिडक र अन्यायपूर्ण र प्रतिगामी कार्यबिधी सिफारिस गर्नु भएछ । अनि त्यही बिधिमा तपाईले पनि आँखा चिम्लेर सहि धस्काउनुभयो सायद ।

 

अब अन्तिम प्रश्न छ मेरो । यो कार्यबिधी र तपाईले निर्माण गर्नु भएका ती दुई तीन आयोगहरुका निष्कर्ष र सुझावहरुको सङ्गती कहानेर छ रु यहि विधि ल्याउनलाई त्यत्रो दौडधुप आवस्यक थियो रु औचित्यै नै नभएको आयोग किन निर्माण गरियो ? रद्दिको टोकरी मै फालिने भए पछि के के नै गर्ने झै फाईल बोकेर निकालिएको निष्कर्षको के अर्थ भो ? कि भत्ता पचाउन मात्रै मन्चन गरिएका नाटकहरु थिए ती ?

 

कुरो सक्नु अघि , म बबुरो को पनि एउटा सुझव छ । मन लागे ग्रहण गर्नु होला । मैले माथी कतै छुस्स किचकन्निको प्रसङ्ग कोट्याको छु । त्यसैमा जोडिदै भन्न चाहन्छु किचकन्निको पैतला झै यो प्रतिगामी बिधिको पनि पैतला पछिल्तिर फर्किएको छ । तसर्थ समाधान चाहनुहुन्छ भने पछि फर्किएको पैतला सिधा बनाउनुहोस । अझै अलमल मै हुनुहुन्छ भने तपाई आफ्नै अनि वरिपरिका कारिन्दाहरुको पनि पैतला गोचर गर्नुहोस एक फेर । मलाई त शङ्का पो लाग्दै छ कतै तपाईहरुका पैतला पनि दन्त्यकथा कै किचकन्नी को झै पछि फर्किएको त छैन ?

 

अन्तिममा एउटा ठोकुवा म पनि गर्छु आज । धम्की मान्नुहुन्छ भने धम्की नै सहि । तपाईको यो प्रतिगामी कालो बिधेयकले हावा खानेवाला छ । अस्ति भर्खरै को तथ्य नभुल्नुहोला । वरिपरि स्वचालित हतियारधारी जत्था बोकेर जिएको राज संस्थाको प्राण यति सजिलै फुस्कीजाला भन्ने कुराको परिकल्पना सम्म थिएन होला राज संस्थाका उत्तराधिकारीहरुलाई । र पनि हावा खायो । अहिले कुन कुनामा गुमनाम छ त्यो संस्था ? तपाईलाई पनि लाग्ला म सङ्ग हतियारधारी जत्था छन् । सिङ्गै कानुन छ । यी काईते आशिंक हरुले के नै लछार्लान् ? त्यसै लागेको हो भने पनि ठिकै छ । आफ्नो हातियाराधरी जत्था बोकेर आउनुहोस क्याम्पसको ताला तोड्न । हामी पनि नाङ्गो छाती बोकेर उपस्थित होउला । अनि गरौला पिडक र पिडित बिचको अर्को संघर्ष । गोलि चलाउनुहोस छाती थाप्छौ हामी । मैदान छोडेर एक इन्च पछि हट्ने छैनौ । परिणाम जे सुकै होस् , हेरौँला पछि । तर परिस्थिति सहज भए पछि नव सामन्तिको कालो टीका अनुहारै भरी बोकेर प्रत्येक गाँस निल्ने बेला घाँटी देखि ओरालो त लाग्ला गाँस तर हजम भने हुने छैन हेक्का होस गुरु । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

भूकम्प पीडितलाई घर बनाउन लालपुर्जा दिइने

  • 25 minutes ago
भूकम्प पीडितलाई घर बनाउन लालपुर्जा दिइने

दमौली । जग्गाधनी प्रमाणपुर्जा नभएका तनहुँका २७ भूकम्प पीडित घरधुरीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने भएको छ ।

हुम्लीको दशैँ महँगो

  • 30 minutes ago
हुम्लीको दशैँ महँगो

सिमकोट । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ ।

जमराको जुसः यस्ता छन् विशेष फाइदाहरु

  • 1 hour ago
जमराको जुसः यस्ता छन् विशेष फाइदाहरु

काठमाडौं । पछिल्लो समय हामीले जौको जमरा एक चामत्कारिक औषधिको रुपमा प्रयोग गर्दै आएका छौं । चिकित्सकहरुका अनुसार जमराको जुस सेवन गर्नाले मानिसमा लागेका विभिन्न रोगहरु निको हुन्छ ।



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

जमराको जुसः यस्ता छन् विशेष फाइदाहरु

जमराको जुसः यस्ता छन् विशेष फाइदाहरु

काठमाडौं । पछिल्लो समय हामीले जौको जमरा एक चामत्कारिक औषधिको रुपमा प्रयोग गर्दै आएका छौं । चिकित्सकहरुका अनुसार जमराको जुस सेवन गर्नाले मानिसमा लागेका विभिन्न रोगहरु निको हुन्छ ।

विचित्र विश्व

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

एजेन्सी । भारतको अल्वर जिल्लामा एक जना सेल्सम्यानले ठेकदारसँग तलब माग्दा आफ्नो ज्यान नै गुमाउनु परेको खबर बाहिर आएको छ । मृतक सेल्सम्यानका परिवारले ठेकदारले उनको हत्या गरेको आरोप लगाएका छन् ।