जावेद अख्तर भन्छन् : कन्हैयालाई जिताउन जरूरी छ, उनी प्रगतिशील विचारका प्रतीक भइसके
- बुधबार, ११ बैशाख, २०७६
- 3 years ago
- अन्तर्वार्ता
- अन्तर्राष्ट्रिय

चर्चित गीतकार तथा फिल्मकार जाबेद अख्तर लोकसभा निर्वाचनमा बेगूसरायबाट उम्मेदवार बनेका युवा नेता कन्हैया कुमारको चुनावी सभामा सहभागी भए । सभामा उनले कन्हैयालाई जिताउन जरुरी रहेको भन्दै बेगूसरायका मतदातासँग अपील गरे ।
चुनावी सभापछि अख्तरले एक अन्तर्वार्तामा कन्हैया कुमार एक उम्मेदवार र एक सांसद मात्रै नभएर त्यसभन्दा धेरै भएको बताए । राज्यसभा सांसद समेत रहिसकेका अख्तरसँग पत्रकारले गरेको प्रश्न र उनले दिएको जवाफको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
पत्रकार : तपाईंले चुनावी सभामा कन्हैयालाई जिताउन आवश्यक भएको भन्दै अपील गर्नुभयो । तपाईं स्वयं पनि राज्यसभा सांसद भइसक्नुभएको छ । कन्हैयाले जिते पनि उनी एक सांसद मात्रै बन्छन् । के एउटा सांसदले मुलुकमा परिवर्तन ल्याउन सक्छ ?
जावेद अख्तर : तपाईंले राम्रो प्रश्न गर्नुभयो । यो सत्य हो कि एउटा सांसदले संसदमा कुनै क्रान्ति गर्न सक्दैन । तर कन्हैया जो छन्, उनी एक सांसदभन्दा धेरै छन् । प्रगतिशील विचारका उनी एक प्रतीक भइसकेका छन् । धर्मनिरपेक्षता, मजदूर, किसान र कमजोर वर्गका मानिसहरूको लागि समभाव राख्ने नेताको प्रतीकका रूपमा कन्हैया स्थापित भइसकेका छन् । यदि उनी यति महत्वपूर्ण छैनन् भने अचम्मको कुरा यो छ कि मिडियाले उनलाई यति चासोका साथ किन पछ्याइराखेका छन् ? कन्हैया महत्वपूर्ण छैनन् भने मिडियाले उसलाई नपछ्याए भइहाल्थ्यो नि । तर यस्तो होइन । किनकी मिडियालाई थाहा छ कि उनीहरू कसको शासन चाहन्छन् भन्ने जनतालाई थाहा नदिन पनि कन्हैयाजस्ता मानिसहरू आवश्यक छन् ।
पत्रकार : बडो अचम्म लाग्ने एउटा प्रसङ्ग के छ भने अन्ना हजारेको अभियान चलिरहेको बेला तपाईं त्यसको विपक्षमा बोल्नुहुन्थ्यो । उक्त अभियानमा केही चिज ठीक थिएन भने कुरा के तपाईंलाई पहिल्यै आभाष थियो ?
जावेद अख्तर : तपाईंलाई अझै त्यो कुरा याद आइरहेकोमा मलाई एकदमै खुशी लाग्यो । अन्नाको अभियान चलिरहेको बेला नै मैले ट्वीट गर्दै भनेको थिएँ कि दुई वर्षपछि सबैले अन्ना हजारेको नाम समेत बिर्सिनेछन् । त्यो सही ठहरियो । र जसले त्यतिबेला मलाई गाली भरिएका प्रतिक्रिया दिएका थिए, उनीहरूसँग यति साहस थिएन कि मसँग माफी मागुन् । आज अन्ना हजारे कहाँ छन् ? त्यतिबेला मैले यहि भनेको थिएँ कि अन्नाको अभियान झुट थियो । त्यसैले अब मेरो कुरालाई विश्वास गर्नुहोस्, म झुट र सत्य के हो भन्ने चिन्दछु ।
पत्रकार : तपाईंले जनतालाई अपील गर्ने बेलामा कन्हैयालाई भोट नदिनु भाजपालाई भोट दिनु हो भन्नुभयो । र अर्को प्रसंगमा ‘मुसलमान भोट बाँडिन नदिनु’ भन्दै एक नेताले भनेको कुरामा विरोध जनाउनुभयो । के यी दुई कुरामा विरोधाभाष छैनन् ?
जावेद अख्तर : छैन । यसमा बिल्कुलै विरोधाभाष छैन । किनकी हिन्दू भोट यसमा, मुसलमान र शिख भोट त्यसमा भन्नु कुन लोकतन्त्र हो ? संसदमा कुन धर्मावलम्बीको भोट कति भनेर हात उठाउन भन्नु लोकतन्त्र हो ? अल्पसंख्यकहरूको भावना त्यसमा कसरी सुरक्षित हुन्छ ? लोकतन्त्र भनेको अल्पमत र बहुमतको खेल होइन । अलग–अलग समय र मान्यताका आधारमा यो फेरबदल भइरहन्छ । यो स्थायी होइन । यदी कोही मुसलमान वा हिन्दू भएकै कारण उसलाई भोट गरिन्छ भने त्यसरी भोट गर्नेहरू ठूला पापी हुन् । कुनै पनि धर्म वा विश्वाससँग तपाईंको के लेनादेना ? यदी तपाईं धर्मनिरपेक्षताको लागि लड्नुहुन्छ भने पहिले तपाईं आफै यी कुराहरूसँग निरपेक्ष रहनु आवश्यक छ । यसमा यो वा त्यो बहानामा बाध्यता रह्यो भन्ने कुरा हुँदैन । भोट दिने बेलामा ख्याल गर्नुपर्ने कुरा भनेको यो उम्मेदवारले हामी सबैको भलो गर्न सक्छ कि सक्दैन ? यो व्यक्ति हाम्रो आवाज बन्न सक्छ कि सक्दैन भन्ने नै हो । जुन दिन तपाईं आफुलाई धर्म, सम्प्रदाय वा विश्वासका आधारमा बाँड्नुहुन्छ, त्यसपछि तपाईं सही व्यक्तिलाई चुन्न सक्नुहुन्न ।
पत्रकार : धर्मनिरपेक्षताका जति पनि स्थापित अनुहारहरू छन्, जस्तो कि लालुप्रसाद यादव, मुलायमसिंह यादवहरू जसरी धर्मनिरपेक्षता शब्दलाई लोकप्रिय नाराको रूपमा दोहोर्याइरहन्छन्, उनीहरूलाई यतिबेला मुद्दाको आधारमा कन्हैया साझा व्यक्ति हुनसक्छ भन्ने किन लागेन ? के उनीहरूले यो मौका गुमाएका हुन् ?
जावेद अख्तर : राजीतिका बाध्यता, चक्कर वा रणनीतिहरू के हुन्छन् भन्ने म त्यति जान्दिनँ । तर मलाई माफ गर्नुहोस्, देशमा अहिलेसम्म जुन किसिमको धर्मनिरपेक्षता छ भनिन्छ, त्यसबाट म सन्तुष्ट छैन । धर्मनिरपेक्षताको अर्थ कुनै धर्म विशेषको आधारभुत रवैयालाई स्वीकार्नु भन्ने होइन । एक समय शाही हमाम जानुलाई धर्मनिरपेक्षता मानिन्थ्यो । म त्यसलाई धर्मनिरपेक्ष मान्दिनँ । यो त कस्तो कुरा भयो भने सद्भावको राग अलाप्दै एक सम्प्रदाय अर्को सम्प्रदायसँग हात मिलाइरहेका छन् र यहि नै धर्मनिरपेक्षता हो । धर्मनिरपेक्ष मानिस त ती सम्प्रदायहरूसँग जोडिन पनि मन पराउँदैन ।
पत्रकार : अन्तिम एउटा प्रश्न गरौं । यो पतनको सुरुवात त तपाईंको क्षेत्रमा समेत भइसकेको छ । पतन त्यहाँ पनि छ । जसरी फिल्महरू बनिरहेका छन्, त्यसमा साहित्यबोध छैन, इतिहासबोध छैन । गाउँ, समाजजस्ता चिजहरू त्यहाँ गायब छन् । राजनीतिमा पनि त्यस्तै किसिमको पतन छ । तपाईंले आफ्नो क्षेत्रमा भएको पतन त रोक्न सक्नुभएन भने राजनीतिमा भएको पतन कसरी रोक्न सक्नुहोला भनेर कसैले प्रश्न सोधे भने तपाईं के जवाफ दिनुहुन्छ ?
जावेद अख्तर : समाजमा कसको नियन्त्रण छ भन्ने कुरा तपाईंलाई थाहा नै होला ? यहाँ कसको निर्देशनमा सबै हुन्छ ? जो सत्तामा हुन्छ, समाजमा उसैको असर, प्रभाव र नियन्त्रण हुन्छ । र तपाईं जुन पतनको कुरा गर्दै हुनुहुन्छ त्यो त मैले कन्हैयाको सभामै भनिसकेको छु । जब विष फैलिन्छ तब त्यसले शरीरको हरेक अंगलाई असर गर्छ । यस्तो त हुँदैन कि त्यो विषले एउटा अंगलाई मात्रै असर गर्छ र अर्कोलाई गर्दैन । त्यतिबेला त्यो विष हरेक क्षेत्रमा देखिन्छ । त्यो विष तपाईं विश्वविद्यालयमा देख्नुहुन्छ । फिल्म, अफिस, बजार, सडक सबै ठाउँमा त्यो फैलिन्छ । तर यसो भन्दैमा हामी त्यो विष विरुद्धको हतियार बिसाउन सक्दैनौ । हामी लड्नुपर्छ । हामी हरेक मोर्चामा लड्नुपर्छ । विभिन्न तरिकाले लड्नुपर्छ । विषको असर यता लैजाने कि उता लैजाने भन्ने निर्णय सत्ताले गर्छ । त्यसकारण हामी राजनीतिक रूपमा पनि लड्नुपर्छ ।
(एजेन्सीकाे सहयाेगमा)
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
कालीगण्डकी नदीले बगाउँदा वृद्ध बेपत्ता
- 49 minutes ago

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ बेणी सङ्गमस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा शुक्रबार एक वृद्धलाई बगाउँदा बेपत्ता भएका छन् ।
हल्कादेखि मध्यम वर्षाको सम्भावना
- 1 hour ago

काठमाडौं । देशभर आज आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ
- 1 hour ago

वीरगञ्ज । श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई शुक्रबार पक्राउ गरेको छ ।
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
मास्कको प्रयोग ओमिक्रोन विरुद्ध उपयोगी भएको अध्ययनको दावी

एजेन्सी । अष्ट्रेलियाका चिकित्सा अनुसन्धानकर्ताहरूले ओमिक्रोनको असर काम गर्न मास्कको प्रयोग अति उपयोगी भएको तथ्य पत्ता लगाएका छन् ।