बेलायतमा हामीलाई निजी क्षेत्रबाट धेरै सहयोग भएको छः डा. काफ्ले

बेलायतमा हालसम्म कोरोना भाइरस (कोभिड– १९) संक्रमितहरुको संख्या ३ लाख माथि पुगेको छ । कोरोना संक्रमणकै कारण ४६ हजारभन्दा बढी मानिसले ज्यान समेत गुमाइसकेका छन् । मार्च महिनादेखि मे महिनासम्म दैनिक हजारौंको संख्यामा संक्रमित थपिदै जाँदा स्वास्थ्यकर्मीसहित‘फ्रन्टलाईन’ मा बसेर काम गर्नेहरु निकै व्यस्त थिए । लकडाउन तथा कडा नियमसँगै उपचारको कारण क्रमशः संक्रमितहरुको संख्या घट्दै गइरहेको भए पनि पछिल्लो समय बेलायत सरकारले लकडाउन खुकुलो पार्दै अर्थतन्त्रलाई मजबुद बनाउने कोशिस गरिरहँदा कोरोना भाइरसको अर्को लहर आउने सम्भावना भएको विज्ञहरुको चेतावनी छ । संक्रमित देखिन थालेपछि केही शहरहरुमा लकडाउनको घोषणा समेत भएको छ । यी र यस्तै विषयमा नेपालीपत्रको लागि सुवास गौलीले बेलायतको म्यान्चेस्टरस्थित लेटन अस्पतालको आइसीयुमा कार्यरत नेपाली चिकित्सक सुमित्रा काफ्लेसँग कुराकानी गरेका छन् ।

 

बेलायतमा कोरोना संक्रमितको संख्या ३ लाख ६ हजार नाघिसकेको छ । जसमध्ये ४६ हजार भन्दा बढीले ज्यान पनि गुमाइसकेका छन् । हालबेलायतमा देखिएको संक्रमणको अवस्थालाई तपाईले कसरी नियालीरहनु भएको छ ?

 

बेलायतमा पछिल्लो समय संक्रमितहरुको संख्या घट्दै गइरहेको छ । कोरोनाको संक्रमण तीब्र रुपमा फैलिइरहेको बेला म काम गर्ने लेटन अस्पतालको आइसीयुमा एकै समयमा तीन जना डाक्टर संक्रमितको उपचारमा खटिनुपर्ने अवस्था थियो । हाल एउटा मात्रै डाक्टर बसे पनि पर्याप्त छ । 

 

अहिले लकडाउन खुलेसँगै परिवारका दुई/तीन जना सदस्य बाहिर भेट्न सक्छन् । हाल म्यान्चेस्टर, ब्राडफोर्ड तथा लेस्टरमा स्थानीय स्तरमा संक्रमणको दर फैलिन थालेसँगै शुक्रबारबाट लकडाउन गरिएको छ । पूरा देशलाई नै लकडाउनमा राख्दा कोरोना संक्रमण त नियन्त्रण होला तर, यसले अर्थतन्त्रमा गम्भीर असर गर्छ । बेलायत सरकारले पहिला लकडाउनलाई कडा पार्ने र क्रमशः खुकुलो पार्ने । आवश्यक परेको खण्डमा पुनः लकडाउन कडा बनाउँदै खुकुलो पार्ने रणनीतिको अवलम्बन गरेको छ यो उचित कदम हो भन्ने मैले ठानेको छु ।

 

बेलायतमा अझै पनि कोरोना संक्रमितहरु भेटिएका छन् । यस अवस्थामा सरकारले लकडाउनलाई आवश्यकता अनुसार कडा तथा खुकुलो पार्दै लगेको छ । लकडाउन खुकुलो पार्दै लैजाँदा कोरोना भाइरसको अर्को लहर आउने कत्तिको खतरा छ ? स्पेनमा लकडाउन खुकुलो गरेसँगै संक्रमित संख्या बढेको रिपोर्ट बाहिर आएको थियो । सर्वसाधरणको लागि सहज वातावरण बनाउन खोज्दा झन् जटिल अवस्था आउने त होइन ?

 

बेलायतमा दोस्रो लहर आउँदैन भन्ने कुनै ग्यारेन्टी छैन । लकडाउनलाई खुकुलो बनाउँदै लगेको खण्डमा संक्रमणको दर पनि बढ्दै जान सक्छ । यहाँको सरकारले समय समयमा कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि मापदण्डहरु परिवर्तन गर्दै आएको छ । यहाँ पहिला मास्क लगाउनु पर्दैन थियो तर, अहिले हरेकले सपिङ्ग गर्न जाँदा, सार्वजनिक सवारीमा यात्रा गर्दा मास्क लगाउनुपर्ने नियम बनेको छ । पहिले रेष्टुरेन्ट जाँदा नजिक–नजिकै बस्न सकिन्थ्यो तर, अहिले एक व्यक्तिदेखि अर्को व्यक्तिहरुको दूरी कायम गर्न भनेको छ । यस्ता खालको कदमबाट बेलायतमा दोस्रो वेभ आए पनि पहिलो चरणकोजस्तो जस्तो ठूलो हुँदैन भन्ने मलाई लाग्छ । 

 

संक्रमण समुदायस्तरमा फैलिएको खण्डमा अवस्थाको मूल्यांकन गरेर सरकाले निश्चित क्षेत्रलाईमात्रै लकडाउनमा राख्ने रणनीतिको अवलम्बन गरिरहेको छ । यसले संक्रमणदरलाई घटाइदिन्छ । सरकारले कोरोना नियन्त्रणको लागि अथक प्रयास गर्दा पनि अर्को लहर आउन सक्छ ।

 

तपाई कार्यरत लेटन अस्पतालमा पहिले दैनिक ३–४ सय जनाकोरोना संक्रमित उपचारको लागि आइरहेका हुन्थे । हालको अवस्था कस्तो छ ?

 

अहिले म कार्यरत अस्पतालमा संक्रमितको संख्या निकै कम भएको मैले पाएको छु । म आइसीयुमा काम गर्छु । मेरो डिपार्टमेन्टमा चाँही एकदमै गम्भीर अवस्थाका विरामीहरुमात्रै उपचारको लागि आउने गर्छन् । त्यसैले सामान्य अवस्था भएका संक्रमितहरु कति आउँछन् भन्ने मलाई थाहा हुँदैन । तै पनि निकै कममात्रामा संक्रमितहरु आइरहेको जानकारी मलाई छ । मेरो डिपार्टमेन्ट गत तीन सातादेखि गम्भीर अवस्थाका बिरामीहरु भर्ना भएका छैनन् । यसबाट पनि थाहा हुन्छ संक्रमितको संख्या कम छ ।

 

कोरोना संक्रमितको उपचारको लागि तपाईहरु अग्रपंत्तिमा रहेर काम गरिरहनुभएको छ । उपचारबाट संक्रमण मुक्त भएर घर फर्किइरहेकाहरुले कस्तो प्रतिक्रिया दिन्छन् ?

 

यो महामारीको समयमा राष्ट्रिय स्वास्थ्य सेवामा आवद्ध कर्मचारीहरुमात्रै नभएर अन्य अत्यावसेकिय क्षेत्रमा काम गर्ने मानिसहरुको महत्व धेरैले अझै राम्रोसँग बुझेका छन् । निकै जटिल अवस्थामा यी मानिसहरुको महत्व अझै हुँदो रहेछ भन्ने धेरैलाई भान भएको छ । सामान्य नागरिकहरुले अग्रपंक्तिमा रहेर काम गर्नेहरुप्रति कृतज्ञता व्यक्त गरेका छन् । त्यस्तै, संक्रमितहरुले पनि निकै राम्रो तरिकाले हामीहरुलाई हेर्ने गरेको मैले पाएको छु ।

 

बेलायतले कोरोनाबाट प्रभावित प्रायः सबै क्षेत्रलाई राहत दिइरहेको छ । स्वास्थ्यकर्मीहरुलाई कस्तो राहतको व्यवस्था भएको छ ?

 

कोरोना भाइरस संक्रमितको उपचारमा खट्ने स्वास्थ्यकर्मीहरुलाई केही समय अघिसम्म सरकारी तवरबाट त्यस्तो ठोस प्याकेजको व्यवस्थाको घोषणा भएको थिएन । तर, पछिल्लो समय हामीहरुको पारिश्रमिक बढाउने भन्ने कुरा आएको छ ।

 

तर, हामीले सरकारी भन्दा पनि निजी क्षेत्रहरुबाट निकै सहयोग पाएका छौं । हामी काममा निकै व्यस्त हुने भएको कारणलेगर्दा रेष्टुरेन्टबाट निःशुल्क डेलिभरी गरिदिनुभएको छ । जसले गर्दा हामी आफैले पकाउनु परेन । म काम गर्ने हस्पिटल त्यति ठूलो होइन त्यसकारण क्यान्टिनहरु ढिला खुल्ने र चाँडै नै बन्द हुने गर्दथ्यो तर, हामी रातदिन काम गरिरहने भएको कारणले गर्दा बिहान चाँडै खोल्ने तथा राति पनि ढिलो बन्द गर्ने गरेर हामीलाई सुविधा दिनुभयो ।

 

हस्पिटलले पनि स्वास्थकर्मीहरु थाकेको तथा तनाव भएको बेला आराम गर्नको लागि भनेर ‘रेस्ट एरिया’ बनाइदियो । जहाँ हामीथाकेको बेला गएर केही समय बस्न सक्यौं साथै पानी तथा चिया पनि निःशुल्क उपलब्ध गराउन थाल्यो । घरमा बस्न समस्या भएका स्वास्थ्यकर्मीहरुलाई हस्पिटलले बस्ने व्यवस्था पनि गरिदिएको छ । त्यस्तै, हामीहरुले यो महामारीको समयमा पार्किङ्गमा पनि शुल्क तिर्नु परेको छैन ।

 

कोरोनाको भ्याक्सिन नआइसकेको अवस्थामा बेलायतमा कोरोना संक्रमितको उपचारको लागि कस्ता–कस्ता विधिहरुको प्रयोग भइरहेको छ ? पछिल्लो समय नेपालमा पनि ‘प्लाज्माडोनेसन’ गरेर संक्रमितको उपचार गर्ने भनेर कुरा आएको छ । यो विधि कस्तो हो ?

 

प्लाज्मा डोनेसनचाँही अहिले ट्रायलमै रहेको उपचार विधी हो । यसलाई सबै हस्पिटलले प्रयोगमा ल्याएका छैनन् । तर, पहिला पनि प्रयोग गरिएको भएर यस विधी सफल हुनसक्छ भन्ने छ । समग्रमा नेपालको सानो अस्पतालमा होस् या बेलायतको ठूलो अस्पतालमा प्रायः एउटै तरिकाले संक्रमितहरुको उपचार भइरहेको छ । यसबीचमा बिभिन्न खालका विधिहरुको प्रयोग गरिएको भए पनि त्यसले सफलता पाइहालेको अवस्था भने छैन । संक्रमणले थप असर नगरोस् भनेर केही औषधिहरु चलाइन्छ । तर, त्यो भाइरसलाई निमुर्ल पार्नको लागि भन्दा पनि थप क्षति रोक्नको लागि हो । पछिल्लो एक अध्यायनले देखाएअनुसार आईसीयुमा आएका संक्रमितहरुको उपचारमा डेक्सामथोस प्रयोग गर्दा मानिसहरु बाँच्ने सम्भावना बढी हुन्छ । त्यस्तै, मुटु, फोक्सो, रक्तसञ्चार, लगायतका कामलाई सहयोग गर्नको लागि केही औषधिहरुको प्रयोग गरिन्छ । संक्रमणकै कारण केही संक्रमितहरुको मिर्गौला नै खराब भएको अवस्थामा पाइप लगाएर डायलाइज गरिन्छ । यो उपचार विधि भाइरसको लागि मात्रै गरिने चाँही होइन ।

 

केही साताअघि अक्सफोर्ड विश्वविद्यालयले बनाएको भ्याक्सिन परीक्षण गर्दा भाइरस प्रतिरोधी क्षमताको विकास गरेको भनेर समाचार आएको छ । योभ्याक्सिनको परीक्षण पूर्ण रुपमा सफल हुने सम्भवना कतिको देख्नुभएको छ ?

 

यो भ्याक्सिनको अहिले दोस्रो चरणको परीक्षण सफल भएको छ । परीक्षणमा संलग्न मानिसहरुमध्ये ९० प्रतिशतलाई उक्त भ्याक्सिनले काम गरेको छ । तेस्रो चरणमा धेरै देश तथा धेरै मानिसहरुमा प्रयोग गरेपछि पनि सकारात्मक नतिजा देखिएको खण्डमा यो वर्षको अन्त्यतिर भ्याक्सिनको प्रयोग सुरु हुन्छ भन्ने अनुमान गरिएको छ ।

 

अन्त्यमा, संक्रमणकै कारण बेलायतमा धेरै नेपालीहरुको मृत्यु भइसकेको छ । यसबाट कसरी सुरक्षित रहनसक्छन् नेपाली समुदाय ?

 

पहिला बेलायतमा रहनुभएका सबै नेपाली समुदायका मानिसहरुले क्वारेन्टिन तथा आइसोलेसनको नियम मान्नुभएको थियो । तर, अहिले केही नेपाली समुदायले पनि पार्टी गर्न थाल्नुभएको छ । यस्तो गतिविधिलाई नियन्त्रण गर्न सकिएन भने भाइरस संक्रमणको दर फैलन सक्छ । सोही कारणले गर्दा सरकारले दिएको नीति नियमहरुको पालना गर्नु आवश्यक छ । 

 

हो, चार/पाँचमहिनासम्म आइसोलेन तथा क्वारेन्टिनमा बस्न गाह्रो हुन्छ । यस समयमा आवश्यक परेको खण्डमा अर्को मानिसहरुको सहयोग लिने कुरा अलग हो तर, धेरैघरका मानिसहरु एउटै स्थलमा भेला भएर पार्टी गर्न थाल्यो भने स्थिति भयंकर हुन सक्छ । ह्वाइट मानिसहरुको ‘सर्भाइबल रेट’ नेपाली सहित एशियन व्यक्तिहरु भन्दा बढी हुने कारणले हामी बढी सचेत हुनु आवश्यक छ । 

 

त्यतीमात्रै होइन, हामीले नियमित रुपमा हात धुने, ह्याण्ड स्यानिटाइजरहरुको प्रयोग गर्ने, पञ्जा लगाउने तथा सार्वजनिक स्थानमा जाँदा मास्क लगाउने कुराहरुको पालना गर्नुपर्छ । अर्को कुरा, यो समयमा आफ्नो शरिरको तौल घटाउन सकियो भने आफ्नै लागि पनि राम्रो हुन्छ । त्यस्तै, कोरोना भाइरस संक्रमितको सर्भाइबल रेट कम तौल भएकाहरुमा छ सोही कारण तौल घटनाउन पनि म सुझाव दिन्छु ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयका सबै सेवा बन्द

  • 9 minutes ago
ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयका सबै सेवा बन्द

काठमाडौँ । ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयका सबै सेवा बन्द भएका छन् । कर्मचारीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको भन्दै सम्पूर्ण सेवाहरु बन्द गरेको हो । कार्यालयले एक सूचना जारी गर्दै अर्क

‘कोरोनाको दशैं’ गीत सार्वजनिक

  • 41 minutes ago
‘कोरोनाको दशैं’ गीत सार्वजनिक

काठमाडौँ । गायक बुद्दि श्रेष्ठ र गायिका कल्पना दाहालको आवाजमा रहेको गीतमा यादव देवकोटा (सरापे) र सुशिला निरौला (बिमली) को मुख्य अभिनय रहेको छ भने नवदुर्गा पौडेल, सन्तु गुरुङ, चन्दा बिडारी र स्वय

झापामा झट्का मेसिनको प्रयोग गरिँदै, जङ्गली हात्ती छेक्न सकिने

  • 50 minutes ago
झापामा झट्का मेसिनको प्रयोग गरिँदै, जङ्गली हात्ती छेक्न सकिने

दमक । भद्रपुर नगरपालिका–९ मा जङ्गली हात्तीलाई मानव बस्तीतिर प्रवेश गर्न नदिन पहिलोपल्ट झट्का मेसिनको प्रयोग गरिएको छ ।



पर्यटन

हुडिकोट

हुडिकोट

पोखरा । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित हुडिकोट हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ ।

जीवनशैली

के तपाईलाई पानी पिउन आउँछ ?

के तपाईलाई पानी पिउन आउँछ ?

एजेन्सी । हाम्रो शरीरलाई आवश्यक पानी पुगेन भने विभिन्न रोग लाग्न सक्छ । पानीको कमीले शरीरभित्र मात्र होइन, शरीरबाहिर छालामा पनि नकारात्मक असरहरू देखा पर्न सक्छन् । कहिले धेरै, कहिले थोरै पानी खानु हुँदैन । खानेकुरा र पानीको मात्रा मिलाएर मात्रै सेवन गर्न जरुरी छ ।