आयुर्वेदिक औषधिमा भगवान भरोसा !

Norvic Hospital
सांकेतिक फोटो

चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनी’ को यही असोज महिनाको पहिलो साता प्रशारित भाग ३५ मा एउटा आयुर्वेदसँग सम्बन्धित सामग्री देखाइएको छ । सिरियलका एक पात्र ‘पाँडे’ ले काठमाडौँमा ‘पाँडे आयुर्वेदिक फर्मा’ खोल्छन् । जहाँ गाउँबाट बाख्राको बड्कौला र फर्निचर उद्योगबाट काठको धुलो झिकाइन्छ, प्याकेजिङ गरेर बेचेको देखाइन्छ । सो बड्कौला र काठको धुलोलाई दुईवटा छुट्टाछुट्टै बट्टामा हालेर ३२ वटा जडिबुटी मिसिएको आयुर्वेदिक औषधि भनेर विरामीलाई बेचिन्छ । त्यसको मूल्य तोकिएको हुन्छ १० हजार । स्वास्थ्य भन्दा ठूलो पैसा होइन भन्दै मान्छेले किनेर लैजान्छन् र खान्छन् पनि । पाँडेको चेकजाँच गर्ने, उपचार गर्ने र औषधि सेवन गर्ने विधि पनि अचम्मको छ । 

 

पाँडेकै साथी खुपिका बाउ गाउँबाट उपचार गर्न भन्दै काठमाडौँ आउँछन् । उनका भतिजले त्यही औषधि किनेर खुवाउँछन् । निको पनि हुन्छ । तर जाँच गराउँदैनन् र त्यो औषधि कहाँबाट आयो पनि खुपिकाबाउलाई थाहा हुँदैन । 

 

एक दिन खुपिकाबाउ त्यही पाँडे साथीको घरमा पुग्छन् । पाँडेको शान, सौकत, खानपान देखेर डाहा गर्छन् र आफू पनि काठमाडौँ बस्ने अनि व्यापार गर्ने मनस्थितिमा पुग्छन् । तर पाँडे साथीले के काम गर्छ उनलाई थाहा हुँदैन । आफूले नै दिएको बड्कौला र काठको धुलो औषधि भन्दै खुपिकाबाउले खाएको पाँडेले देख्छन् र नखान भन्छन् तर आफूलाई रोग निको भएको भन्दै उनी खान्छन् ।

 

अर्को दिन आफूलाई रोग निको भएपछि औषधि दिने डाक्टरलाई धन्यवाद दिन उनी डाक्टर खोज्दै तिनै पाँडे साथीकोमा पुग्छन् । पहिले त पाँडेले आयुर्वेदिक औषधिको कसरी ज्ञान लियो तीनछक्क पर्छन् तर जब गाउँबाट पाँडेको भतिज जयन्तेले एक बोरा बाख्राको बड्कौला र फर्निचर उद्योगबाट आधाबोरा काठको धुलो आइपुग्छ, खुपिकाबाउ तीनछक्क पर्छन् । पाँडेको बेइमानी देखेर आवेगमा आउँछन् र प्रहरीलाई खबर गर्ने निधो गर्छन् तब पाँडे आफ्नो धन्दा छोडेर चम्पट ठोक्छन् ।

 

आयुर्वेदिक औषधि

अहिले नेपालमा पाइने आयुर्वेदिक औषधि कहाँबाट आउँछ र केबाट बन्छ कसैलाई पनि थाहा हुँदैन । खानेलाई त थाहा हुँदैन हुँदैन, सायद बेच्नेलाई पनि आयुर्वेदिक औषधिका बारेमा अत्तोपत्तो हुँदैन । साँच्चै भनौं भने आयुर्वेद उद्योगीलाई पनि थाहा नहुन सक्छ । आयुर्वेदमा झोल, भष्म, ढुटो, ट्याब्लेट आदि प्रकारका औषधि हुन्छन् । ती औषधि गुणस्तरीय र खानयोग्य छन् कि छैनन् थाहा पाउने कुनै संयन्त्र छैन । औषधि व्यवस्था विभाग (डिडिए) ले आयुर्वेद उद्योगीहरुलाई गुड म्यानुफ्याक्चर प्राक्टिस (जीएमपी) मा जानुपर्ने निर्णय नै गरिसकेको छ तथापि उनीहरुले त्यो विविध कारण देखाउँदै आलटाल गर्दै आइरहेको पाइन्छ । कति त जिएमपीमा गइ पनि सकेका छन्, अरु  कति जाने तयारीमा पनि छन् । केही भने आयुर्वेद शास्त्रीय विधिबाटै अगाडि बढ्नुपर्ने पनि बताउँछन् । त्यसैले पनि आयुर्वेद औषधि केबाट र कसरी बन्छ भगवान भरोसामै चलिरहेको छ भन्दा फरक नहोला । सो सिरियलमा पाँडेले भन्छन्, ‘३२ जडिबुटीले बनेको औषधि’ तर उनैलाई पनि थाहा हुँदैन कि ‘बाख्राले बकैनो खायो कि खाएन भनेर ? घोडताप्रे खायो ? बाख्राले जेजे खायो त्यही त्यही जडिबुटी बड्कौलामा आयो । यसैगरि फर्निचर उद्योगमा उत्पादन भएको काठको धुलोमा पनि खयर ताछेको थियो भने त्यो आयो, चिलाउने ताछेको थियो भने त्यो पनि आयो । जेजे काठ ताछियो त्यही त्यही आयो । अनि भएन त ३२ जडिबुटी ?’ हो, यस्तै आयुर्वेद औषधि उद्योगीहरुले पनि ३२ जडिबुटी भन्दै केको धुलो वा झोल खुवाइरहेका छन् न विरामीलाई थाहा छ न नियामक निकायलाई  नै । 

 

अर्कोतर्फ आयुर्वेद फर्मा कसले खोल्न पाउने भनेर सरकारी ऐनमा नै स्पष्ट छ । अहिले क्लिनिक, पोलिक्लिनिक तथा १० बेडसम्मका आयुर्वेदिक अस्पतालहरुको दर्ता, अनुगमन तथा नियमन भने पालिकाभित्रको आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखाले हेर्ने भनिएको छ, कहीँ कतै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरुले अधिकारको दुरुपयोग गर्दै काम गरिरहेका पनि छन् । सरकारी मापदण्डमा आयुर्वेद फार्मेसी तथा क्लिनिक, अस्पतालहरुका बारेमा जे जे भनिए पनि त्यो कागजीरुपमा मात्रै सीमित छ । त्यसको कार्यान्वयन पक्ष फितलो हुँदै जाँदा बजारमा आयुर्वेदका थुप्रै पाँडेहरु सलबलाइरहेको पाइन्छ । 

 

उपचार पद्धति

सो सिरियलमा पनि पाँडेले विरामीको हातमा एउटा पात बेरेर उसलाई चामत्कारिक ज्ञान वा दिव्य शक्ति प्राप्त भएकोजस्तो हाउभाउमा रोगको डाइग्नोसिस गरेको देखिन्छ । विगतमा धामीझाँक्रीहरुले हातको नाडी समातेर हेनेमेने हुँ भन्दै विरामी जाँचेकै तौरतरिका अहिलेको २१औँ शताब्दीका पाँडेहरु अपनाउँछन् । जसले विरामीलाई यो चाहिँ साँच्चिकैको, जौडे डाक्टर रहेछ भन्ने भ्रम पर्छ । आयुर्वेद उपचारकको उपचार पद्धति पनि फरक फरक र चामत्कारिक नै छ । विरामी वा सेवाग्राहीलाई प्रभाव पार्न अनेक हतकण्डा अपनाउने गर्दछन् । उनीहरुले विरामीलाई भ्रममा पारेर आफूलाई सर्वशक्तिमान बनाउने प्रयास गर्छन् ।

 

स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी संशोधित निर्देशिका, २०७३ ले आयुर्वेद चिकित्सकले केके स्रोत साधनको प्रयोग गर्नुपर्छ ? केके उपचारका विधि हुन्छन् भनेर स्पष्टरुपमा तोकिदिएको छ । तर त्यो मापदण्डको प्रयोग भएको पाइदैन । त्यसको कारण पनि छ, खास कुरो के भने एउटाको नाममा फर्म दर्ता गर्ने, चिनेजानेकै आयुर्वेद डाक्टरहरुको नाम टाँस्ने र कहीँ कतै आयुर्वेद डाक्टरहरु पनि देखिने, निश्चित पैसाको बार्गेनिङ गर्ने र त्यस्तो अवैद्य अड्डाहरुलाई चल्न दिने परिपाटी धेरै ठाउँमा छ । हिजोका दिनमा झोलामा आयुर्वेद औषधि बोकेर बाटोमा बेच्दै हिड्नेहरु अहिलेका नाम कहलिएका उद्योगी भइसकेका छन् । उनको मन आर्थिक रुपमा यति साँघुरो छ कि पैसा बाहेक आयुर्वेदको गुणस्तरीयताको केही परबाह नै हुँदैन । मात्रै हुन्छ छुपारुस्तम विधि र तौरतरिका । त्यसो त अहिले पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दशौँ तहमा कार्यरत आयुर्वेद डाक्टर बाबुराजा अमात्य, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा. रामअधार यादव, सिंहदरबार वैद्यखानाका पूर्वप्रबन्ध निर्देशक डा. वंशदीप खरेल र अन्य विशिष्ठ आयुर्वेद चिकित्सकहरु धुमधडाकाले छुपारुस्तम व्यक्तित्वहरु हुन् । जसको नाम र आडमा त्यस्ता आयुर्वेद पाँडेहरुले डम्फु बजाइरहेका हुन्छन् । जहाँसम्म आयुर्वेद औषधि निर्माण गर्नेहरुको सवाल छ, धेरैले औषधि निर्माण गर्ने ठाउँ नै देखाउँदैनन् । सुन्नमा आएको के छ भने केही समयअघि डिडिएका उद्योग शाखामा कार्यरत डाक्टर प्रकाश ज्ञवालीले मापदण्ड नपुगेका ७ वटा उद्योगलाई बन्द गराएका थिए, तर पछि सोही शाखामा कार्यरत अन्यले प्रतिव्यक्ति रु. ७  लाख लिएर उद्योग दर्ता गरिदिए भन्ने पनि सुनिएको छ । यो कुरा थप समाचारका लागि आवश्यक खुराक पनि हुन सक्छ यदि कोही अनुसन्धानमूलक रिपोटिङ गर्न चाहन्छ भने ।

 

उद्योगीहरुमै पनि तँछाडमछाड

आयुर्वेद चिकित्सकीय पद्धतिमा मात्रै होइन, यसको निर्माण र प्रचार एवं बजारीकरणमा समेत समस्या छ । कहिलेकहीँ डिडिएले प्रदेश वा संघीय सरकारका संरचनाहरुमा औषधिको समानुपातिक वितरण भन्दै अनुज्ञापत्र आव्हान गर्छ, तर त्यहाँ यति ठूलो सिण्डिकेट छ कि मानाँै त्यसमा केही व्यापारी र उद्योगीहरुले ठाडै बाजी मारिहाल्छन् । त्यस्ता व्यक्तिहरुमा नेपाल आयुर्वेद व्यवसायी संघका अध्यक्ष जंगराज गिरीको नाम पहिलो पंक्तिमा आउँछ । भनिन्छ, हिजोको दिनमा उनी काठमाडौँका गल्लीहरुमा गलैचाको खुला ब्यापार गर्दथे, तर आज सिण्डिकेटबाटै उनी मालामाल भए । विष्णु सिम्खडा, किरण शर्मा आदि अरु नाम कहलिएका पाँडेहरु हुन्, जसको न उद्योग छ तर बजारमा एकैरात हजाराँै प्याकेट च्यवनप्राश र अरु आयुर्वेद औषधि निर्माण गरेर रातारात एक नम्बरको आयुर्वेद औषधि वितरक वा स्कटिष्ट बन्ने ल्याकत राख्दछन् । यो कुरा त नेपालमा दर्ता भएका सयभन्दा बढी आयुर्वेद उद्योगहरुका मालिकका गुनासो हो, जो मुखले बोल्दैनन् र अरुले बजारमा यस्ता कुराहरु ल्याइदिऊन् भन्ने चाहन्छन् । अष्टांग आयुर्वेद अस्पतालका सञ्चालक हृदयनारायण चौधरी त्यस्तै अर्को नाम होे, जो बजारमा खुलेआम पेन निल ओइल बेच्छन्, उनी न त आफ्नो उद्योग देखाउँछन्, न त त्यसमा कुन चाहिँ त्यस्तो महंगो इन्गे्रडिएन्ट मिसाइएको छ भनेर कोही कसैलाई भन्न सक्छन् । यो त केबल डिडिएका कर्मचारी र चौधरीकै मिलेमतोमा धन्दा अबिरल रुपमा अगाडि बढिरहन्छ, इन्द्रावती बगेजस्तो गरि । आयुर्वेदमा नीति र नियम एकातिर छ, कामकुरो र धन्धा अर्कोतिर भइरहन्छन् । आयुर्वेदको स्तरोन्नतिका लागि कोही कसैलाई मतलब छैन, मतलब छ मात्रै पैसाको । 

 

सेवा शुल्क र औषधिको मूल्य

पाँडेले विरामी जाँच गरेर दुई बट्टा औषधि दिएको १० हजार भन्छन् । ३२ जडिबुटी संकलन गर्न कठिन भएको, जडिबुटीको मूल्य आकासिएकोजस्ता बहाना बनाएर विरामीलाई कन्भिन्स गर्छन् । विरामीलाई ‘स्वास्थ्य भन्दा ठूलो पैसा होइन’ भन्ने पारेपछि भनेजति पैसा तिरेर बाहिरिन्छन् । पैसा नतिरौं रोग पालेर बस्नु पर्यो, तिरौं ढाड सेक्नेगरि महङ्गो छ । निको हुन्छ भनेपछि जति भने पनि पैसा तिर्नै पर्यो । यो विरामीको बाध्यता हो । सक्किगोनिमा आयुर्वेद औषधिको विक्रीवितरणका सम्बन्धमा जे जस्तो देखाइएको छ, ठ्याक्कै वास्तविकता पनि त्यस्तै नै छ । अझ सिरियलमा कम विकृति देखाइएको जस्तो लाग्छ । यहाँ त अब कस्तोसम्म हुन थाल्यो भने देशका जडिबुटी छैन भन्ने, अनि गाईको गोबर, मल र युरियासमेतको प्रयोग गरेर आयुर्वेद औषधिको निर्माण हुन्छ सम्म भन्न थालिएकोे छ । भन्ने बेलामा आयुर्वेदको बजार बढ्यो भन्ने तर अत्यन्तै निकृष्ठता देखाएर यसको व्यापार गर्ने परिपाटी यदि तत्काल रोकिएन भने यो संघीय संरचनामा प्रदेश जस्तो हुन्छ, जो न यता छ, न उता । 

 

विकृतिको चाङ बन्दै वैकल्पिक चिकित्सा

विरामीको जाँच गरेवापत् र औषधि सेवा दिए वापत आयुर्वेद क्लिनिकले सेवा शुल्क लिन पाउने व्यवस्था निर्देशिकाले गरेको छ । त्यो सेवा शुल्क निर्देशिकामा व्यवस्था भएको ‘सेवा शुल्क निर्धारण समिति’ ले तोके बमोजिम हुन्छ । तर यहाँ आफूखुसी जाँच वापतको सेवा शुल्क लिने र औषधिको मूल्य पनि आफूखुसी राख्ने चलन छ । जसले गर्दा विरामीहरु डामिएका छन् । कस्तोसम्म छ भने नक्कली सर्टिफिकेटको भरमा तथाकथित डाक्टरहरु विरामी जाँच्छन् । यो परिपाटी आयुर्वेदमा भन्दा बढी वैकल्पिक चिकित्सा क्षेत्रमा छ । योग तथा प्राकृतिक एवं अन्य पूरक चिकित्सामा हेर्ने हो भने यस्तो दयनीय अवस्था छ कि भनेर साध्य छैन । औषधि नै नचलाउने विधा भनिन्छ योग तथा प्राकृतिक चिकित्सालाई तर त्यसमा लुकीछिपी यति धेरै औषधिको प्रयोग हुन्छ कि भनेर साध्यै छैन । युनानी, होमियोप्याथी, अकुपञ्चर, फिजियोथेरापीमा यति धेरै विकृति र विसंगति छ कि मानौँ तिनले विरामीलाई निको पार्ने भन्दा पनि रोग ब्युताएर मुत्युको मुखमा लैजान्छन्् कि भन्ने जस्तो पो लाग्छ । 

 

व्यवसायिक सफलता

पाँडेले दिनभरि कमाएको पैसाबाट मोजमस्ती गर्छ, सानसौकतले बाँचेको छ । मिठो मसिनो खान्छ । उसको साथी खुपीकाबाउ आउँदा अनेक व्यञ्जन खुवाउँछ । उसको खानपान, रहनसहन, जीवनशैली देखेर खुपिकाबाउ नतमस्तक हुन्छ । उसलाई पनि पाँडेसँगै सहकार्यमा व्यवसाय गर्ने रहर जाग्छ ।

 

ठीक त्यस्तै आयुर्वेद व्यवसायीको सफलता देखेर सबै नतमस्तक हुने अवस्था छ । आयुर्वेद उद्योगी, व्यवसायी, चिकित्सक, वैद्य, कविराज तथा औषधि पसलेहरु राम्रो व्यापार भएको भन्दै हौसिएका छन् । धेरैले दुई वा दुई भन्दा बढि शाखा खोलेर पनि व्यापार गरिरहेका छन् । अर्को शब्दमा भन्दा आयुर्वेद क्षेत्र अहिले बिकाउ बनेको छ । यो अवसरको फाइदा लिँदै व्यवसायीहरुले सेवा विस्तारको नाममा ठगी गर्न पाएका छन् । अब त कहिलेकहीँ यसो पनि भन्न मन लाग्छ कि आयुर्वेद धानेको डाक्टर वा सरकारले होइन, बरु वैद्य र कविराजहरुले नै हो । फेरि दर्तावाल वैद्य र कविराजहरु अरुप्रकारका परम्परागत वैद्य र कविराजहरुको नामै सुन्न चाहँदैनन् । उनीहरुलाई हेयको दृष्टिले हेर्छन् । कोभिडकालमा पनि दर्तावाला डाक्टरहरुको खासै भूमिका देखिएन । उनीहरु फेसबुकमा स्टाटस राख्ने र पाएसम्म उद्योग निरीक्षणको नाममा पैसा कमाउने धन्धामा लागेका थुप्रै प्रमाणहरु छन् । आफूलाई रिस्कमा लिएर पनि त्यस्ता गैरवैद्य वा कविराजहरुले आयुर्वेद तथा वैकल्पिक चिकित्साका क्षेत्रमा गुण लाएका उदाहरण आगामी अंकहरुमा पनि दिँदै जाउँला । भलै अहिलेलाई चाहिँ दर्तावाला भनिएकाहरुको कथाब्याथ यसरी प्रस्तुत गरिएकोे हो । 

 

आयुर्वेदिक औषधिप्रति विश्वास

पाँडेको औषधि खाने खुपिकाबाउसहित अन्य विरामीको पनि रोग निको हुन्छ । त्यसैले पनि त्यहाँ विरामीहरु दोहोर्याइ, तेहेर्याइ आइरहेका हुन्छन् । औषधि गलत दिएको छु भन्ने पाँडेलाई थाहा हुँदा हुँदै पनि विरामी कसरी निको भए भन्ने कुरोमा चाहिँ ऊ नै छक्क पर्छ । कहिलेकाहिँ दिन बलिया भएका होलान् वा विरामीको विश्वासले पनि काम गरेको होला तत्काललाई रोग निको हुन्छ । यसले पाँडेको व्यवसाय त फस्टाउँछ ।

 

अहिले आयुर्वेदिक औषधिको अवस्था ठ्याक्कै त्यस्तै छ । खै के कारणले हो कसैकसैलाई ठिक भएपछि आयुर्वेदिक औषधिप्रतिको विश्वास बढेको छ । तर त्यो औषधिले के रोगलाई ठिक गर्ने हो त्यो थाहा हुँदैन । आयुर्वेदमा प्रयोग हुने भष्मको त कोही पनि चिकित्सक जिम्मेवारी लिनै चाहँदैनन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरका वरिष्ठ कविराज निरीक्षक इश्वरीप्रसाद ढकाल एलोपेथिकको भन्दा आयुर्वेदिक औषधिको साइड इफेक्ट धेरै हुने बताउँछन् । खाने मात्रा र रोगको पहिचान गर्न सकिएन भने आयुर्वेदिक औषधि विष समान हुने उनको भनाई छ । 

 

हुन पनि यसका धेरै उदाहरण भेटिएका छन् । पुतलीसडक, पद्मोदय मोडको अगाडि रहेको झण्डु आयुर्वेदिक औषधालयबाट ग्यास्ट्रिकको औषधि किनेर खाएका पाँचथरका भिष्म गौतम कोलेस्ट्रोल बढेर ५०सौं हजार खर्च गर्न र वर्षौं तनाब बोक्न बाध्य भए । 

 

जुन आयुर्वेद चिकित्सकले, जुन रोगकालागि, जे औषधि सिफारिस गर्छन् उनैले त्यो औषधि खान मान्दैनन् । अर्थात् आयुर्वेद चिकित्सक, वैद्य, कविराजलाई नै त्यो औषधिप्रति विश्वास छैन वा यसले गलत असर गर्छ भन्ने उनलाई राम्रोसँग थाहा छन् । तर पनि विरामीलाई भने निर्धक्कसँग सिफारिस गरेर पठाउँछन् ।

 

धन्दा बन्द

पाँडेको पोल खुलेपछि अन्ततः छँदाखाँदाको व्यवसाय बन्द गरेर भाग्नु पर्ने अवस्था आउँछ । गलत काम गर्नेको कुनै न कुनै दिन धन्दा बन्द हुन्छ र यसरी नै कुलेलाम ठोक्नु पर्छ त्यसैले गलत काम नगरौं, पैसा कमिन्छ भन्दैमा मानिसको स्वास्थ्य र व्यवहारसँग नखेलौं भन्ने सन्देश यो सिरियलले दिएको छ । 

नेपालीमा केही उखान छन्, ‘उल्फाको धन फूपुको श्राद्ध’, ‘लुटेको धन भुटिखाने’, ‘पाप धुरीबाट कराउँछ’, ‘आजको हिरो, भोलिको जिरो’ । यी उखान पाँडेको व्यवहारसँग पनि मिलेका छन् भने नेपालको आयुर्वेद क्षेत्रसँग पनि मिल्ने देखिएका छन् । क्षणिक सुख र सफलताका लागि आयुर्वेद क्षेत्र रोजेका व्यक्तिहरुका कारण समग्र आयुर्वेद क्षेत्र बदनाम भइरहेको छ । अर्कोतर्फ आयुर्वेद क्षेत्रको विकास र विस्तार पनि सोही कारणले हुन सकिरहेको छैन । ‘एक बिराउने शाखा पिराउने’ भनेजस्तो एउटाको गल्तीले समग्र आयुर्वेद क्षेत्रमा दाग लागिरहेको छ । यो दागलाई मेटाउन पनि आयुर्वेद क्षेत्रका चिकित्सक, वैद्य, कविराज, कर्मचारी, उद्योगी, व्यवसायी र नियामक निकाय गम्भीर बन्न जरुरी छ । नत्र पाँडेका झै कुनै न कुनै दिन धन्दा बन्द गरेर चम्पट ठोक्ने दिन आउने नै छ ।

 

प्रकाशित लेख नितान्त लेखकको विचार हो ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

साफ फाइनलः नेपाललाई ३-० गोलले हराउँदै भारत च्याम्पियन

  • 6 hours ago
साफ फाइनलः नेपाललाई ३-० गोलले हराउँदै भारत च्याम्पियन

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा नेपाललाई ३-० गोलले हराउँदै भारत आठौं पटक च्याम्पियन बनेको हो ।

साफ फाइनलः नेपालविरुद्ध भारत २-० ले अगाडी

  • 7 hours ago
साफ फाइनलः नेपालविरुद्ध भारत २-० ले अगाडी

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् ।

साफ च्याम्पियनसिप फाइनलः पहिलो हाफ बराबरीमा सकियो

  • 7 hours ago
साफ च्याम्पियनसिप फाइनलः पहिलो हाफ बराबरीमा सकियो

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् ।



पर्यटन

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

एजेन्सी । कोभिड १९ को सङ्क्रमणका कारण विगतको समयमा पर्यटकहरुको आगमन रोकिएको मालदिभ्समा यस वर्ष भने ९ लाख भन्दा बढी पर्यटक आएका छन् ।यहाँको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मालदिभ्समा नौ लाख ५ हजार पर्यटक आएका छन् । सो मन्त्रालयले अघिल्लो वर्ष सन् २०२० को यो अवधिको भन्दा १२२ प्रतिशतले बढी पर्यटक मालदिभ्स भित्रिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यहाँ पर्यटक नै आएका थिएनन् ।

जीवनशैली

स्वादिलो भुटन कसरी बनाउने ?

स्वादिलो भुटन कसरी बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।