

Life Style 
डोल्पा पर्यटकीय गन्तव्यका दृष्टिले आकर्षक ठाउँ हो । शे फोक्सुन्डो ताललाई गन्तव्य बनाएर डोल्पाको यात्रा गर्न सकिन्छ । कर्णाली अञ्चलमा अवस्थित डोल्पामा रहेको शे फोक्सुन्डो ताल रमणीयताको खानी नै हो । यो ताल ४ दशमलव ८ किलोमिटर लाम्चो, १ दशमलव ८ किलोमिटर चौडा र ६ सय ५० मिटर गहिरो छ ।
यो ताललाई हरियो र नीलो रंगको अनुपम मिश्रणले रंगाएको छ । आँखालाई भरपूर मनोरञ्जन दिनका यो पर्याप्त छ । आकाशमा सूर्यको स्थानसँगै रङ फेर्ने फोक्सुन्डोको सफा पानीलाई नाङ्गा हिमालले पहरा दिएका छन् । एउटा प्रचलित किम्वदन्तीअनुसार, यो तालभित्र प्राचीन गाउँको अवशेष अझै देखिन्छ ।
ताल मात्र होइन शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा हेर्न लायक् अरु पनि थुप्रै कुराहरु छन् । जैविक विविधता र मनोरम्यताका दृष्टिले पनि यो उत्तिकै महत्वको छ । राष्ट्रिय निकुञ्जमा एक सय ९६ प्रजातिका चरा, ३२ प्रजातिका स्तनधारी जन्तु र चार सय सात प्रजातिका जडिबुटी पाइन्छन् । यहाँ पुग्ने मुख्य नाका जुफाल विमानस्थल हो । यहाँबाट तीन घण्टाको पैदल यात्रामा डोल्पाको सदरमुकाम दुनै पुगिन्छ । जहाँबाट वास्तविक पदयात्राको आनन्दसहित शे फोक्सुन्डोको यात्रा सुरु हुन्छ ।
डोल्पामा विश्वकै उच्च स्थानमा रहेको फोक्सुन्डो ताल, हिमालको दृश्यावलोकन, शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, जलयात्रा, त्रिपुरासुन्दरी मन्दिर, शे गुम्बालगायतका आकर्षक र रमणीय स्थलहरू भए पनि यहाँ वाषिर्क एक हजार ५०० को सङ्ख्यामा मात्रै विदेशी पर्यटक आउने गरेका छन् ।
सुन्दरताका हिसाबले रमणीय गन्तव्यमा पर्छ डोल्पा तर भौगोलिक विकटताले पिछडिएको डोल्पा जिल्लाका पर्यटकीय गन्तव्यहरु ओझेलमा परेका छन् । जैविक विविधता, प्राकृतिक सौन्दर्य, ताल-तलैया, गुम्बालगायतका पर्यटकीय गन्तव्य स्थलहरू रहे पनि डोल्पामा बाटोघाटो र हवाई सेवाको नियमितता नहुनु तथा सूचना प्रविधिबाट टाढा भएका कारण डोल्पाका पर्यटकीय गन्तव्यहरु ओझेलमा परिरहेका छन् ।
यार्चा गुम्बा र अन्य चर्चित जडिबुटीका कारण पनि डोल्पा आकर्षक गन्तव्य हो । उद्योग वाणिज्य संघ डोल्पाका अध्यक्ष लालीमान बुढाले आगामी भदौ महिनामा डोल्पामा १२ वर्षे पर्यटन तथा साँस्कृतिक मेलाको आयोजना गरिन लागेको बताउँदै त्यस महोत्सवमा अधिकतम् पर्यटक भित्रयाउन ओस्कार पुरस्कारका लागि छनोट भएको नेपाली चलचित्र क्याराभानका नायक थिन्ले लेन्डुप लामालाई सद्भावना दूत बनाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रचारप्रसार गरिन लागेको जानकारी दिए ।
भौगोलिक पूर्वाधार र विकास निर्माणमा राजनीतिक दलबाट पहल कम भएको, सरकारले कणर्ाली क्षेत्रलाई विशेष प्राथमिकता नदिएको र पर्यटन व्यवसायीले पर्यटक ल्याउन चासो नदेखाएको धारणा डोल्पाबासीले राखेका छन् ।
Last Updated : 2012-04-17 06:42:47 | Text Size :


EDT 16:43
21:43
2:28
SYD 6:43



