

Life Style 
भूपेन्द्र निरौला/कैलाली
भादा, जाखोर, बोडितोला, खानीडाँडा, बर्दियाको सूर्यपटुवा, कणर्ालीको चिसापानी, टीकापुर, चाँदनी दोधारा पुल, टनकपुर...।
सुदूरपश्चिमका पर्यटकीय गन्तव्य हुन्, यी । केही समययता यी ठाउँहरुमा पर्यटकको बाक्लो उपस्थिति हुन थालेको छ । त्यसैले पनि पर्यटन तथा सांस्कृतिक विकास मञ्च दर्ता गर्न हौस्याएको छ, स्थानीयलाई । यही संस्थाको माध्यमले स्थानीयहरु योजनाबद्ध रुपमा पर्यटन विकास गर्न लागि सकेका छन् ।
पछिल्ला दुई वर्षमा मात्र मध्य तथा सुदूरपश्चिममा एक दर्जन बढी पर्यटकीय गन्तव्य थपिए । मञ्चले सम्भावित पर्यटकीय क्षेत्रको पहिचान गरी त्यसको योजनाबद्ध विकासमा सहयोग गर्ने योजनासमेत कोर्न थालिसकेको बताउँछन्, स्थानीयहरु ।
गतिलो छ, मञ्चको योजना । पहिलो चरणमा धनगढीस्थित जाखोर ताल र ४५ किलोमिटर उत्तरस्थित बोडितोला र खानीडाँडालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना मञ्चले सारेको छ । शान्त र रमणीय वातावरण, गर्मीयाममा पनि चिसो हुने, पूणर्ागिरी मन्दिर, टनकपुर, पिलिभित, बलिया लगायतका स्थान देखिने भएकाले बोडितोला र खानीडाँडालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके भारतीय पर्यटक आकषिर्त गर्न सकिने महसुस गरेर योजना अघि बढाइएको श्रेष्ठको भनाइ छ ।
राष्ट्रिय खेलकुदका क्रममा धनगढी पुग्ने कतिपय खेलाडी रमणीय जाखोरमै बसेका थिए भने अधिकांश खेलाडी, तथा प्रशिक्षक जाखोरको मनोरम दृष्य हेर्न पुगेका थिए । धनगढीबाट घुम्न लायक स्थान चिसापानी, टीकापुर, चाँदनी दोधारा, शुक्लाफाँटा पुग्न ६०/७० किलोमिटरको यात्रा गर्नुपर्ने भएकाले पनि धनगढी पुग्नेलाई मन बहलाउन जाखोर र भादाको विकल्प छैन ।
थारु बस्ती भादामा गत वर्ष स्थापित होमस्टे पनि कैलालीबासीको बिदा मनाउने स्थानका रुपमा परिचित हुन थालेको छ । शुक्रबार, शनिबार र बिदाका दिनमा आराम गर्न भादा आउनेको संख्या बढ्दै छ । स्थानीय लक्ष्मी नारायण चौधरी भन्छन्, ''सस्तो र घरायसी वातावरणमा थारु खानेकुरा खान पाइने भएकाले भादामा पाहुना बढेका हुन् ।'' प्रसिद्ध बेहडावावाको मन्दिरले पनि यहाँ पर्यटक बढाउन मद्दत पुर्याएको चौधरीको ठम्याई छ । होमस्टेको थालनीसँगै सबै घरले शौचालय निर्माण गरेका छन् ।
धनगढी बजारबाट तीन किलोमिटर नजिकै रहेको जाखोर ताल क्षेत्र अरु विभिन्न कारणले पनि पर्यटकीय सम्भावना भएको स्थान हो । तालको चारैतिर हरियाली, मनमोहक वन, जंगल र चराचुरुङ्गी मात्र देख्न पाइँदैन १३ हेक्टरमा फैलिएको उक्त तालमा बोटिङसमेत गर्न सकिन्छ । स्वच्छ, शान्त, रमणीय वातावरण भएकै कारण यो स्थान धनगढीबासीको मात्र मन बहलाउने थलो भएको छैन, सीमावर्ती भारतसमेतबाट ताल अवलोकन गर्न आउने पर्यटकको संख्या पछिल्ला दिनमा बढ्दै गएको छ । छेवैमा जाखोर बाबाको मन्दिर, र पिकनिकका लागि पर्याप्त स्थान भएकाले पनि जाखोर जानेको संख्या बढ्दै गएको हो । डुंगा सञ्चालक प्रेम राना थारुका अनुसार, दैनिक तीन सयभन्दा बढी जाखोर घुम्न आउँछन् । अझ शनिबार त यहाँ आउनेको लर्को लामै हुन्छ । केही वर्षयता जाखोर घुम्न आउनेको संख्यामा बढोत्तरी भएपछि धनगढीस्थित होटल सञ्चालकले यहाँ रिर्सोट खोल्न थालेका छन् । यसै क्रममा दुई वटा रिर्सोट खुलिसकेका छन् भने अरु दुई वटा निर्माणाधीन छन् ।
त्यसैगरी कोइली ताल र घोडाघोडी तालमा पर्यटन पूर्वाधार बनाउन लागिपरेका छन्, सुदुपश्चिमबासी । चाँदनी दोधारा पुल, कणर्ाली पुल, टनकपुर ब्यारेज, टीकापुर पार्क, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कारण पनि सुदूरपश्चिममा पर्यटनको सम्भावना छ । अझै कणर्ालीमा र्याफ्टिङ र मोटरबोट सञ्चालन गरेर पनि यस क्षेत्रमा पर्यटक बढाउन सकिने सम्भावना देखिएको छ । पछिल्लो पटक डोटीको दिपायलबाट र्याफ्टिङमार्फत् पाँच दिनमा चिसापानी आउन सकिने सम्भावना देखाएका छन्, डोटी महोत्सवको अवसर पारेर सुदुरपश्चिमेलीले । कणर्ालीमा पाइने डल्पिmन हेर्न पनि कतिपय पर्यटक यहाँ आउने गर्छन् ।
३ सय ५० किलोमिटरको दूरीभित्रै भारतीय राजधानी दिल्ली, लखनउ, देहरादुन, नोयडासहितका ठुला १० शहर पर्ने भएकाले पनि सुदुरपश्चिममा धार्मिक पर्यटनको प्रशस्त सम्भावना छ । नेपाल उद्योग वाणिर्ज्य महासंघका केन्द्रीय सदस्य गोपी हमालका अनुसार, प्रसिद्ध धार्मिक केन्द्र मानसरोवर यात्रासमेत नेपालबाट नजिक पर्छ । बझाङसम्मको सडक कालोपत्रे भएकाले त्यहाँबाट हेलिकप्टरमार्फत् वा पैदल पनि तीन दिनमा पुगिने भएकाले त्यसको प्रचार/प्रसारमा ध्यान पुर्याउन सके ठुलो संख्यामा भारतीय पर्यटक भित्र्याउन सकिन्छ । अपी, सैपाल हिमाल मात्र होइन, नाउर, डाँफे नाचको रमाइलो हेर्दै अपी नाम्पा संरक्षण क्षेत्र भएर पनि मानसरोवर जान सकिन्छ ।
गत आर्थिक वर्ष ४ हजार विदेशीसहित ८ हजार पर्यटकले अवलोकन गरेको बर्दिया राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको पहिलो ७ महिनामा मात्रै यो संख्या १३ हजार नाघेको छ । निकुञ्ज आसपासमा होटलको संख्यामा आएको बढोत्तरीले पनि ठाकुरद्वारामा पर्यटक बढेको संकेत गर्छ । ठाकुरद्वारामा मात्र पछिल्लो एक वर्षमा आधा दर्जन बढी होटल थपिए भने नाम चलेका टाइगर टप्स, जंगल सफारी, जंगल हेभनसहितका होटलले क्षमता बिस्तार गरे ।
स्थानीय होटल व्यवसायी प्रतिक्षा चौधरी ठाकुरद्वारा आउने आधाभन्दा बढी पर्यटक निकुञ्जभित्र नपस्ने दाबी गर्छिन् । व्यवसायीले पर्यटक बढेको बताए पनि त्यस्तै प्रकृतिको चितवन राष्ट्रिय निकुञ्जमा पर्ने सौराहामा बर्दियाको भन्दा ८ गुणा बढी अर्थात् वाषिर्क एक लाख बढी पर्यटक पुग्छन् । माथिको तथ्यांकले पनि पश्चिमेलीले निकुञ्जबाट अपेक्षाकृत फाइदा लिन नसकेको प्रष्ट हुन्छ ।
राजधानी र पोखराबाट नजिक हुनुको फाइदा मात्र लिएको छैन, प्रचार-प्रसारका कारण पनि त्यतिकै लाभ उठाउन सफल भएको छ, सौराहाले । काठमाण्डु र पोखराबाट दैनिक दर्जनको हाराहारीमा पर्यटक बस छुट्छन्, सौराहाका लागि । तर, विदेशी पर्यटकलाई बस्ने, खाने त्यतिकै सुविधा भए पनि ठाकुरद्वारा ओझेलमै परिरहनुमा सरकारको दोष देख्छन्, स्थानीयबासी । दैनिक तीन सय पर्यटक बास बस्न सक्ने होटल ठाकुरद्वारामा मात्र खुलिसकेका छन् । पाँच किलोमिटर दक्षिणमा पर्ने सूर्यपटुवाको जैविक मार्गमा पनि एक वर्षअघि ५० जना बास बस्नसक्ने गरी होमस्टे सुरु गरिएको छ । होटलको क्षमता अनुसार, पर्यटक आउने हो भने सो क्षेत्रमा मात्र मासिक १० हजार ५ सय पर्यटक बस्न सक्ने व्यवस्था छ । पर्यटकको संख्या अपेक्षाकृत रुप बढ्न नसक्दा स्थानीयले लगानीअनुसार प्रतिफल पाउन नसकेको जैविक होमस्टेका अध्यक्ष पर्शुराम चौधरीको ठम्याइ छ, भन्छन्, ''विश्वमै दुर्लभ कणर्ाली पुल, चिसापानीका स्वादिला माछाले अवश्य पनि पर्यटक लोभ्याउँछन् । तर, प्रचार/प्रसार र प्रवर्द्धनमा सरकारी उदासिनताकै कारण मध्य र सुदुरपश्चिम क्षेत्र ओझेलमा पर्दै आएको छ । सरकारले सहयोग गरिदिने हो भने चितवनभन्दा केही कम छैन, ठाकुरद्वारा ।" निजी क्षेत्रले ठाकुरद्वारमा पर्यटक बढाउन प्याकेज निर्माण गरेर पर्यटक बस सञ्चालन गर्ने हो भने अहिलेको तुलनामा पाँच गुणा बढी पर्यटक लग्न सकिनेमा बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रमेशकुमार थापा विश्वस्त छन् ।
चितवनलाई निजी क्षेत्रले अघि बढाएको स्मरण गर्दै चिसापानी क्षेत्र पर्यटन प्रवर्द्धन विकास समितिका अध्यक्ष कृष्ण भट्टराई भन्छन्, "निजी क्षेत्रलाई आकषिर्त गर्न नसक्दा पनि मध्य तथा सुदुरपश्चिम क्षेत्र पछि परेको हो ।" यस क्षेत्रको पर्यटकीय विकासमा महत्वपूर्ण सहयोग पुर्याउने उद्देश्यका साथ ठाकुरद्वारामा 'टुरिस्ट इन्फरमेसन सेन्टर' स्थापना हुन लागेको छ भने बाघ चौक निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ ।
विदेशीले हात्ती चढेको प्रति घण्टा एक हजार रुपियाँ लाग्छ भने नेपालीलाई दुई सय रुपियाँ तिरे पुग्छ । प्राकृतिक सौन्दर्यका बाहेक गोही प्रजनन् केन्द्र, बाघ, गैँडा, हात्ती, चित्तलका बथान, बाह्रसिंगा सहितका जनावर तथा सैयौँ प्रजातिका चरा हेर्नकै लागि पर्यटक ठाकुरद्वारा पुग्ने गर्छन् ।
बर्दिया, सुर्खेत र बाँकेको एक गाविसमा फैलिएको निकुञ्ज ९ सय ६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । मानवीय चाप नभएका कारण पनि शान्त मानिन्छ, बबई उपत्यका । पूर्वपश्चिम राजमार्गको अम्रेनीबाट १२ किलोमिटर कच्ची सडकको यात्रा गरेपछि ठाकुरद्वारा पुग्न सकिन्छ । हवाई मार्गबाट नेपालगञ्ज हुँदै आउनेले ९० किलोमिटर सडक यात्रा तय गर्नुपर्छ । कैलालीको टीकापुर विमानस्थल सञ्चालनमा आउने हो भने त्यो दुरी ६० किलोमिटरमा सीमित हुनेछ ।
पर्यटकीय गन्तव्य बन्दै जाँदा सुदूरपश्चिममा होटलहरु थपिदो अवस्थामा छन् ।
धनगढीमा डिभोटी, रुबस, साथी, दिनेश कटेजजस्ता ठूला होटल सञ्चालनमा आइसकेका छन् । तीन तारे रुवस, जलसा होटलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । महेन्द्रनगरस्थित ओपेरा होटलले पनि यसै वर्ष ५० वटा कोठा थप गरेको छ । सिद्धार्थ कटेजले चिसापानीमा होटल बिस्तार गरेको छ भने कैलालीकै टीकापुरमा ग्रीन एसिया होटलले एसीसहितका १८ कोठा भएको होटल सञ्चालनमा ल्याएको छ । खप्तड बाटिका होटलले पनि एसी सुविधासहितका सात कोठा भएको होटल सुरु गरेको छ ।
धनगढी, महेन्द्रनगर, टीकापुरमा मात्र पछिल्ला एक वर्षमा साना र मध्यम गरी झण्डै एक सयको संख्यामा होटल खुल्नुले पनि स्वदेशी र बिदेशी पर्यटकको आगमन बढेको बुझ्न गाह्रो छैन । पहिलो खान बस्न समस्या हुने दिपायल, मंगलसेन, साँफेबगरमा पनि पछिल्लो समय राम्रा होटल खुल्न थालेका छन् । सुविधासम्पन्न बस्ने, खाने स्थान नभएको भन्दै चार वर्षअघिसम्म सुदुरपश्चिममा हुने प्रशिक्षण, अन्तरक्रिया, गोष्ठी मध्य पश्चिमको नेपालगञ्जमा हुने गरेको स्मरण गर्दै नेपाल उद्योग वाणिर्ज्य महासंघका केन्द्रीय सदस्य गोपी हमाल भन्छन्, "हालै सम्पन्न छैठौँ राष्ट्रिय खेलकुदले पाँच हजारभन्दा बढी पर्यटकलाई सुदुरपश्चिमले राख्न सक्छ भन्ने प्रमाणित गरिदिएको छ ।"
पछिल्ला दिनमा सुदूरपश्चिममा भएका सबै पर्यटकीय सम्भावनालाई उजिल्याउन र यसबारे थप पहल गर्न स्थानीयबासीले जुन जाँगर देखाइरहेका छन् त्यसले आशा जगाएको छ । योजनाहरु अपेक्षाकृत रुपमा साकार हुँदै गए सूदुरपश्चिम पनि स्मरणीय पर्यटकीय गन्तव्य बन्ने पक्का छ ।
Last Updated : 2012-03-27 10:48:36 | Text Size :


EDT 20:08
1:08
5:53
SYD 10:08



