

अर्न्तवार्ता
युरो संवाद
अष्ट्रेलिया संवाद
कार्टुन अर्काइभ

जनताको आवाज
पहिले कांग्रेस फुट्यो, एमाले फुट्यो, राप्रपा र मधेसवादी दलहरूसँगै अब फुट्ने पालो एकीकृत माओवादीको छ । यी पार्टीहरू किन फुटेका होलान् ?
सर्वेक्षण
अर्काइभ
मनै त हो, जता लग्यो त्यतै जान्छ
संगीता मरहट्टा[ ]
दुई चार दिन भयो, मेरो मन त्यसै चन्चल भएको । चन्चल शब्द उपयुक्त हुन्छ वा हुंदैन, थाहा छैन् । तर, मनमा एक किसिमको बेचैनी जस्तो भइरह्यो । दिमागमा सय थरी कुरा खेलेर हैरान । कहिलेकाहिं लाग्छ, एउटा दिमागमा यति धेरै कुरा कसरी अटाउंछ होला । धान्न कसरी सकेको होला यसले । झन् यसो गरि सोच्दा सोच्दै टाउको नैं दुखेर आउने ।
दुई हप्ता अघि सम्मको चिन्ता अर्कै थियो। नेदरल्याण्डस्मा हुन लागेको गैर आवासीय नेपाली संघको युरोपेली क्षेत्रीय भेलामा भाग लिन अति मन थियो, जान मिल्ला कि नमिल्ला भनेर सोच्दा सोच्दा अनि यता र उता मिलाउंदा मिलाउंदा टाउको राम्रै दुखेको थियो। जान जुरेको रहेछ। मैंले भाग लिएं, त्यो पनि सक्रिय रुपमा र आफ्नो सहभागीतामा अति हषिर्त पनि भएँ म । यसपालीको लेखमा तपाईंहरुसंग यही बारेमा कुरा गरौंला भन्ने लागेको थियो। तर अर्को मनले भन्यो, ह्या, कति कुरा गर्ने त राजनीति, महिला अधिकार, गैर आवासीय नेपाली संघ आदि विषयमा? आज यो स्तम्भकार संगीतालाई स्वाद फेर्न मन लागेको छ ।
उता, नेपालमा संविधान आउला तर आएको संविधानमा आफ्नो वर्ग वा जातीको अधिकार चाहिं कम होला कि भनेर हजारौंले सडक तताए, कहिले पूर्व बन्द, कहिले पश्चिम आखिर हात लाग्यो शुन्य । संविधान बनाउने संविधान सभा नै भंग भयो । बन्द र हडतालको मार खाएका लाखौं नेपालीले विदेशको जीवनलाई आफ्नो कल्पनामा राख्दा हुन्, आहा कति आनन्द छ विदेशमा । न बन्द, न हडताल, न लोडसेडिङ न त धारामा पानी नआउने चिन्ता नै । तर, सांच्चै यस्तै विना सुर्ताको छ त परदेशको जिन्दगी ? बिशेषगरी यहाँ बेलायत जस्ता विकसित र मेसिनमय भएका देशका कुरा गर्दैछु म ।
मेरो मनको छटपटी र विकसित देशका सतही आनन्दलाई जोडेर हेरें मैले । आधुनिकताको पराकाष्टमा पुग्दा कतै भित्रभित्र खोक्रो बनेको त छैन मन? ओशोका चेला स्वामी आनन्द अरुणसंग अन्तर्वार्ता लिने क्रममा यस्तै गहन तर हामीले भन्न नचाहेर दबाएर राख्ने मनका बारेमा धेरै कुराकानी भएका थिए केही हप्ता अघि । बिशेषगरी पाश्चात्य मुलुकमा भइरहेको तीव्र विकास र रात दिनको दौडधुपले मानिसको असली जिन्दगी कतै हराउंदै गइरहेको कुरालाई स्वामीले औंल्याउनु भएको थियो । म नेदरल्याण्ड्स जानु अघि स्वामी अरुणसंग कुरा भएको थियो। उतिबेला मेरो मनले एउटै कुरा खोजेको थियो, जहां जसरी भएपनि मलाई नेदरल्याण्ड्स् जान चांजोपांजो मिलोस् । गएँ पनि, भनेजस्तो भयो । र्फकेर आएपछि फेरि उही कता के नपुगेको हो जस्तो भएर मनमा अशान्ति शुरु भयो । उहाँका कुरा झन् मार्मिक लाग्न थाले मलाई । मानिसका असिमित चाहना अनि चाहना पुरा नहुंदाका पीडाले जन्माउने कुण्ठा । विकसित र आधुनिक जीवनमा मेसिनजस्तै बनेको जिन्दगी अनि कतै हराइरहेको मानव जीवन । कता गइ रहेका छौं कुन्नि हामी ?
स्वामी अरुणले भन्नुभयो- आजकाल हामी प्राकृतिक निन्द्रा नै प्राप्त गर्न छाडेका छौ ं। कयौंलाई निन्द्राको गोली बिना सुत्न मुश्किल छ । कस्तो छ नि दौडधुप । एउटा समस्या आउंछ, टाउको दुखाउंछ, ल अब सकियो भन्यो, फेरि अर्को आइहाल्छ । मन छट्पटिन्छ, सुस्केरा आउंछ । त्यसै त्यसै बितिरहन्छ जिन्दगी ।
स्वामी अरुणका कुराले सार्है छोयो मलाई । आजको दुनियाँमा अनेकन् समस्याहरु परिरहंदा योग र ध्यानले नै मान्छेको बेचैनी, पीडालाई कम गर्न सक्छ भन्ने उहाँको मुल तर्क हो । म न त ओशोको विचारमा आस्था राखी हिंड्ने ओशो भक्त हुँ, न त अन्धाधुन्ध हिसाबले भगवानमा विश्वास नैं गर्छु । तर, केही सच्चाई त छैन् हाम्रा धर्मशास्त्रमा अनि ओशो वा स्वामी आनन्द अरुण जसको भएपनि विचारहरुमा?
केही महिना अघिमात्र नेपाली टेलिभिजन लण्डनको स्टुडियोमा सत्यनारायणको पुजा लगाउने निर्णय भयो। यो उमेरसम्म कहिल्यै सुनेको थिइन् मैले सत्यनारायण कथा । यसपाली सुन्नैं पर्यो भनेर अठोट गरें । सुन्दै जांदा पण्डित नीलहरि घिमिरेले भन्नुभयो- 'हाम्रा धार्मिक ग्रन्थहरु कति वैज्ञानिक पनि छन्, यसलाई ढोंगका रुपमा मात्र लिन र यसको ठाडो आलोचना मात्र गरिहाल्न जरुरी छैन् । उदाहरणकै रुपमा लिउं। तपाईं हरेक रात रक्सी पिएर सुत्नुहुन्छ, गह्रौं टाउको लिएर उठ्नुहुन्छ बल्लबल्ल । टाउको दुखेको टेन्सनले गर्दा हतारहतार नमिठो मुख लगाएर कार्यालय जानुहुन्छ, तपाईंको नमिठो अनुहार देखेर सायद अरु पनि हांस्न छाड्छन् । तर, बेलुका समयमा खाना खाएर सुत्नुभएको छ र बिहान एक पाइला चांडै उठेर एउटा गुलाफको फुल र जल भगवानलाई चढाउनु भयो भने मनै प्रसन्न हुन्छ । ल भन्नुस् यसमा के खराबी छ?' खराबी नै त छैन पण्डितजी, तर भगवानमा आस्था नराख्नेलाई जबर्जस्ती गराउन चाहिं हुन्न भन्ने जवाफ दिएं उहाँलाई मैले । पण्डित निलहरिको कुरामा केही त दम छ जस्तो लाग्यो मलाई । गुलाफको फुल र हंसिलो चेहराका बीच केही त सम्बन्ध छ, सायद बेचैन मन पनि शान्त हुन्छ होला त्यसो गर्दा ।
यसो भनेर मनै नलागी अदृष्य भगवानलाई फुल चढाउनै पर्छ भन्ने मेरो तर्क होइन् । मैले भनिहालें म पनि यस्ता कुरामा त्यति विश्वास गर्दिन् । तर, शंख घण्ट फुकेर रातदिन भगवानको अगाडि आंखा चिम्लिएर कामै नगरी फोकटमा वर माग्ने आस्तिकता भन्दा यो चाहिं कुरो बढि वैज्ञानिक हो कि भन्ने मलाई पनि लागेको हो ।
संजोगकै कुरो भनौं, ध्यान र योगलाई महिमा दिने अर्का व्यक्तित्वसंग भेट भयो फेरि यो साता । हेभन्ली पाथ युकेले नेपालबाट गुरु हजुरलाई झिकाएर मेडिटेशन कार्यक्रम गरेको थियो । मलाई पनि भाग लिन मन लाग्यो । विशेषगरी मनमा धेरै कुरा खेलेकाले ध्यान गर्दा के हुंदो रैछ त भन्ने लागेर म त्यहाँ गएँ । आधा घण्टा जतिको ध्यानमा आंखा चिम्म गरेर बस्दा र संगीतको सुमधुर आनन्दले मन एकाग्र पार्न ठूलै मद्दत पुगेको अनुभव भयो मलाई । अरुण स्वामीसंगको भेट, पण्डित नीलहरिको धर्मबारेको तर्क अनि हेभन्ली पाथको मेडिटेसनपछि मलाई अब लाग्न लागेको छ, जिन्दगीको सफलताका पछि पछि भाग्ने क्रममा हामीले धेरै कुरा गुमाइरहेका छौं, जसलाई आफैं अनुशासनमा बसेर धेरै हदसम्म नियन्त्रण गर्न सकिने पनि रहेछ । विदेशको यो व्यस्तता, पारिवारिक जिम्मेवारी, एक छाक खानका लागि रात दिनको दौडधुप । सडकमा हडताल र बन्द नभएपनि मनभित्र आंधी बेहरी आयो भने त्यो झन् डरलाग्दो सावित हुन पुग्दछ । स्वामी आनन्द अरुणले भन्नुभएको छ-पाश्चात्य मुलुकमा लागु पदार्थ र रक्सीलाई मन अशान्ति र दुख अनि पीडाको औषधि जस्तो मान्न थाले मानिसहरुले । तर, यो क्षणिक औषधिले कति दिनसम्म टिकाइराख्न सक्छ र मानिसको वेदनालाई ?' कुरो सही हो । कुलतमा फस्नु भन्दा त फोकटमा खर्च भइरहेको समयमा अध्ययन गर्नु, ध्यान गर्नु वा मनलाई दीर्घकालीन शान्ति दिने काम गर्नु नै बेस हो भन्ने मलाई पनि लाग्छ । धर्मलाई आंखा चिम्लेर नमानेपनि रुन्चे मुख लगाएर तनावपूर्ण मुद्रामा घर बाहिर निस्कनुभन्दा बरु भगवानका नाममा ताजा गुलाफ चढाए पनि त्यो बढि लाभदायक हुने हो कि? आर्थिक बोझ र अनेकन जिम्मेवारीका कारण विकसित देशमा त झन् 'डिप्रेशन' जस्ता अनेकन् मानसिक समस्या देखिएका छन् । चिकित्सकहरु स्वयंले नै स्वीकारेका छन् यस्ता समस्याका लागि ट्याबलेटहरु क्षणिक हुन्, योग, ध्यान, कसरत दीर्घकालीन हुन्छन् ।
भन्न कति सजिलो छ है, गर्न हामीलाई गार्हो लाग्छ । ध्यान र योगका लागि समय खोई ? यो प्रश्न तपाइंका मनमा पक्कै उब्जेको छ । गत बर्ष कलेजमा व्यवस्थापन विषय पढाउंदा मलाई अति मन परेको बिषय थियो, समय व्यवस्थापन । कति धेरै वैज्ञानिक कुराहरु थिए त्यहाँ । समय व्यवस्थापन मानिसको जिन्दगीको अति महत्वपूर्ण पाटो हो भनिएको थियो र बेचैनी र तनाव कम गर्नमा यसले धेरै मद्दत गर्ने तर्कहरु दिइएका थिए । तर, म आफैं समय व्यवस्थापनमा चुक्ने गरेको छु कहिलेकाहिं । मनमा खेल्ने अनेकन् कुराले विचलित बनाइरहेको हुन्छ, समय नष्ट भएको थाहै हुंदैन । तर, नेपाली पाराकै कुरा गर्ने हो भने, अरुको बारेमा कुरा काट्न र अरुलाई होच्याउन, अरुलाई पीडा दिन, पेल्न पायौं भने हामीलाई समय जति पनि मिल्छ । सही कामका लागि चाहिं समय मिल्दैन । हो कि होइन, भन्नुस् त? जिन्दगीका अनेक भोगाइले धेरै कुरा सिकाएको छ । आजकाल मलाई लाग्न थालेको छ, अनुशासित मनको आवश्यकता छ । मनै त हो, दुख्यो भन्ने एउटा गीत सुनेकी थिएँ धेरै वर्ष पहिले । तर, दुख्ने नै मन भएपनि मनै त हो, जता लग्यो, त्यतै जान्छ ।
sangitamarahatta@yahoo.com
Views : 971 | Last Updated : 2012-06-13 08:26:20
No comments so far
Other Literature/Article
सिनेमा हेर्दा भावुक दृश्यहरुमा आँखा रसाएको थियो धेरै पटक । त्यो पनि दृश्य र प्रसङ्ग परिवर्तन भएपछि खस्नै लागेका आँशु भए पनि थामिने गर्दथ्यो । अर्थात् प्रत्यक्ष रुपमा पात्रहरुले वास्तविक जस्तै भएर अभिनय गरेका कयौँ सिनेमाका अ
साउनको ३ गते मैले घर छाडेँ । २०५३ साल थियो त्यो । एसएलसी त्यही सालको चैतमा दिनुपर्ने थियो । बाउआमाको कचकच एक कानले सुन्दै अर्को कानबाट फुस्स हावामा उडाइदिएँ । जीवनमा पहिलोपटक दुई साताको लागि घर छाड्दै थिएँ म । मनमा घर छाड्नुपर्द
अस्पतालबाट बाहिरिदै गरेकी तृष्णा आज पखेटा फिँजाएर उड्न चाहन्छे । हुन पनि उसले आफूखुसी नउडेको ६ महिना भइसकेको थियो ।
बेलायती लेखिका इ एल जेम्सको 'फिफ्टी सेड्स अफ ग्रे'ले छोटो अवधिमा नै धेरै किताब बिक्ने कीर्तिमान बनाएको छ । यसअघि जे के रोलिङको 'हृयारी पोर्टर' शृङ्खलाले यो कीर्तिमान बनाएको थियो ।
जिवन शैली
करिब तीन वर्षअघि टेकबहादुर खपाङ्गीलाई आफूले वर्षौँअघि पढेको विद्यालयबाट चिठी आयो- नयाँ विद्यालय बनाउन चन्दा संकलन गरिदिनुपर्यो । परदेशमा बस्ने नेपालीहरुलाई गाउँघरबाट आउने आमपत्रभन्दा नौलो थिएन यो ।Read more....
गन्तब्य नेपाल
काठमाडौँबाट झन्डै १७ किलोमिटरको दूरीमा रहेको यही स्थानको पानीबाट चन्द्रशमशेरले आफ्नो बेलायRead more....
सन्देशहरु
बिज्ञापन
आगामी कार्यक्रमहरु


EDT 13:39
18:39
23:24
SYD 3:39



